सरकारले भूमी सम्बन्धी आयोग खारेज गर्नु लाचारीपन : नगर प्रमुख हमाल




अत्तरिया, २० साउन- कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालले संघीय सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्नु सरकारको लाचारीपन भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एमालेसँगको रिस भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीमाथि पोख्नु सरकारको लाचारी भएको नगर प्रमुख हमालले टिप्पणी गरेका हुन् ।



‘नेकपा (एमाले) सितको रिस भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु माथि पोख्नु सरकाको लाचारीपन हो ।’ उनले लेखेका छन- ‘गल्ती सच्याई आयोगलाई पनः सकिृय बनाउन सरकारलाई जनदवाव सिर्जना गरौं।’


भूमि आयोग र कृष्णपुर नगरपालिकाबीच जग्गाधनी पूर्जा उपलब्ध गराउनेबारे गत वर्षको कात्तिक २७ गते सम्झौता भएको थियो । सोही सम्झौता अनुसार जग्गा नापीको कार्य आईतवारदेखि सुरु गरेको थियो । मंगलबार प्रधानमन्त्री शेर बहादुर देउवा सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निणर्य गरेको छ ।



