धनगढी- विदेश जान सुदूरपश्चिमबाट १० हजार भन्दा बढीले श्रमस्वीकृति लिएका छन् । सुदूरपश्चिमबाट विदेश जानेको संख्या वर्षेनि बढ्दो छ ।
पछिल्लो समय वैदेशिक रोजगारीमा जानेमा पुरुषसँगै महिलाको संख्या पनि बढ्न थालेको छ । साथै वैदेशिक रोजगारमा जान पुनः श्रम स्वीकृति लिनेको संख्या पनि बढ्न थालेको छ । यहाँबाट धेरै संख्यामा जाने तीन देशसहित मलेसिया, ओमन, बहराइन, रोमानिया, जोर्डन, जापान, कोरिया, पोल्यान्ड, कंगो, माल्दिभ्स, इन्डोनेसिया, इजरायल र माल्टा छन् । यसका साथै यूएई, कतार, साउदी र माल्टाका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या पनि बढेको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा सुदूरपश्चिम प्रदेशबाट ९ हजार ४४७ पुरुषले वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिएका छन् । ९ सय ४२ महिलाले समेत वैदेशिक रोजगारीमा जान श्रमस्वीकृती लिएको पाइएको छ । सो अवधिसम्म पुरुष र महिला गरेर कुल १० हजार तीन सय ८९ को संख्यामा वैदेशिक रोजगारीका लागि श्रमस्वीकृत लिएको नेपाल राष्ट्र बैंक धनगढीले गरेको अध्ययन प्रतिवेदनले देखाएको छ ।
यो संख्या रोजगारीका लागि तेस्रो मुलुक जाने पुरुषसँगै महिलाको संख्या पनि पछिल्लो समय बढ्दै गएको छ । तर सुदूरपश्चिम प्रदेशको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य भने भारत हो। यहाँबाट रोजगारीका लागि भारतमा कति जना गएका छन भन्ने आधिकारिक तथ्यांक भने छैन् ।
तर झण्डै ६ लाखको संख्यामा भारतका विभिन्न सहरमा कामको खोजीमा यस प्रदेशबाट गएको हुनसक्ने अनुमान गरिएको छ । स्वदेशमा रोजगारीका अवसर नहुँदा वर्षेनी भारत लगायत तेस्रो मुलुक जाने श्रमिकको संख्या बढ्दो छ । छिमेकी मुलुक भारतमा भने परिवारसहित जानेको संख्या पनि बढ्दो क्रममा देखिएको छ ।