गोदावरीमा नगर स्तरिय समन्वय समितिलाई अभिमुखीकरण कार्यक्रम

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सम्बन्धी नगर स्तरीय समन्वय समितिलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको उच्च गुणस्तरीय किशोर किशोरी मैत्री स्वास्थ्य सेवा प्रदान गर्नका लागि स्वास्थ्य शाखा द्वारा आयोजित कार्यक्रममा नगर स्तरीय समन्वय समितिलाई किशोर किशोरीको अवस्थामा के कस्ता क्रियाकलाप हुने गर्छन, कसरी सुन्दर भविष्य बनाउन सकिन्छ, कसरी कुलत तथा दुर्व्यसनीबाट बचाउन सकिन्छ भनी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको जानकारी स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले गराएका हुन् ।

कार्यक्रममा गोदावरी नगर उप प्रमुख शारदा देवी रोकाया, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट, वडा न. ७ की वडा अध्यक्ष कलवती साउद, घण्टेश्वर विद्यालयमा अध्ययनरत तथा नगर बाल क्लबका अध्यक्ष, स्वास्थ्य शाखाका प्रतिनिधि, शिक्षा शाखाका बिश्नुराज अवस्थी लगायतको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा किशोर किशोरीहरूले के कस्ता क्रियाकलाप गर्दै आएका हुन्छन, कसरी शैक्षिक गतिविधिमा ल्याउने, गोदावरी नगरपालिकामा किशोर किशोरीको अवस्था कस्तो छ लागायतका क्रियाकलाप सहितको प्रस्तुतीकरण गर्दै स्वास्थ्य शाखा प्रमुख अवस्थीले स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको बैठकमा किशोर किशोरीको उपस्थिति सुनिश्चित गराउने, किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन गर्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने गराउने लगायतका कुराहरूको विमर्श गरिएको थियो ।

त्यसैगरी स्वास्थ्य संस्थाबाट प्रदान भएको स्वास्थ्य सेवा किशोर किशोरी मैत्री मापदण्ड अनुसार भए नभएको अनुगमन गर्ने गराउने, निर्देशिकामा तोकिएको प्रकृया पुरा गरी किशोर किशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गर्ने, किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन भएका संस्थाले प्रदान गरेको स्वास्थ्य सेवाको अवस्था, सेवाको गुणस्तर, औषधी, औजार उपकरण, जनशक्ति व्यवस्थापन लगायतका विषयमा महाशाखा र प्रमाणीकरण गर्ने निकायले समय समयमा अनुगमन गर्नु पर्ने बताएका छन ।

त्यसैगरी किशोर किशोरी मैत्री स्वास्थ्य सेवा विस्तार भएका संस्थाहरूको अनुगमन मूल्याङ्कनबाट उत्कृष्ट रहेका स्वास्थ्य संस्थालाई महाशाखा प्रदेश मन्त्रालय स्थानीय तहले प्रोत्साहन गर्नेछ भने स्वास्थ्य संस्थाले प्रदान गरेको सेवाको अभिलेख नेपाल सरकारले तोके बमोजिमका फाराममा राखी मानिक रूपमा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा प्रविष्टि गर्नु पर्नेछ ।

कार्यक्रममा बोल्दै नगर उप प्रमुख शारदा देवी रोकायाले किशोर किशोरीहरूको हक हत सँगै विद्यालय तथा शिक्षणसंस्थामा जनचेतना फैलाउने, लागूऔषध, आफ्नो जीवन कालमा कति सन्तान जन्माउने, पछिल्लो समयमा कुलत र दुर्व्यसनीमा फस्दै गरेका बालबालिकालाई कसरी अगाडि बढाउन सकिन्छ, तिनीहरूको सुन्दर भविष्य कसरी कोर्ने लगायतका कुराहरूमा ध्यान दिनु पर्ने बताएका हुन ।

Loading...