धनगढी- कैलालीमा लागूऔषध सहित ३ सय ९२ जना पक्राउ परेका छन् । लागूऔषध (खैरो हेरोइन), चरेस र गाँजा सहित चालु आर्थिक वर्षको साउन देखि जेठ पहिलो साता सम्म २४ महिला सहित ३ सय ९२ जना पक्राउ परेका हुन् ।
तीमध्ये २ सय ७५ जना विरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा दायर गरिएको छ । प्रहरीले लागूऔषध नियन्त्रणलाई प्राथमिकतामा राखेर सक्रियता बढाए पछि पक्राउ पर्नेको संख्या बढ्न थालेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्र बहादुर बोहराले लागूऔषधको मुद्दामा पक्राउ पर्ने मध्ये अधिकांश १५ देखि २५ वर्ष उमेर समूहका युवायुवती रहने गरेको बताए ।
सुदूरपश्चिममा भारतसँग सीमा जोडिएका कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी लागूऔषधको कारोबार हुने गरेको छ । प्रहरीले लागूऔषध सेवन, कारोबार र ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्दै आएको छ । यस्तो कार्य सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुरमा हुने गरेको छ । भारतसँग खुला सीमानाका कारण भारतबाट लागूऔषध भित्रने गरेको छ ।
प्रहरीका अनुसार सबै भन्दा बढी प्रयोग र कारोबार खैरो हेरोइनको हुने गरेको छ । सीमावर्ती भारतीय क्षेत्रमा सहज उपलब्ध हुने र खुला सिमानाका कारण लुकिछिपी आयात हुने भएकाले खैरो हेरोइन कारोबार बढी हुने गरेको छ । त्यस्तै चरेस र गाँजाको कारोबार पनि बढ्दै गए पछि प्रहरीले निगरानी बढाएको छ ।
सुदूरका पहाडी जिल्लाबाट चरेस र गाँजा कैलाली र कञ्चनपुर सम्म पुग्ने गरेको छ । कञ्चनपुरमा ३ महिनाको अवधिमा मात्र ७७ जना लागूऔषध सहित पक्राउ परेका छन् । चरेस र लागूऔषध सहित कञ्चनपुर प्रहरीले तीन महिनामा ७७ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा ८ महिला समेत छन् ।
पक्राउ परेकाहरूलाई कारबाहीका लागि कानुनी दायरामा ल्याएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए । पक्राउ परेकाहरु बाट प्रहरीले ६ सय ८० ग्राम चरेस र ९३ ग्राम खैरोहिरोइन समेत बरामद गरेको छ । ‘कञ्चनपुर कारागारमा ३५ प्रतिशत भन्दा बढी कैदीबन्दी लागूऔषध मुद्दाका छन् ।