

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका किसान यज्ञराज गौतमले सात कठ्ठा जग्गामा तरकारी खेती गर्नु भएको छ । उनले बारीमा लौका, फर्सी, काँक्रा लगायतका तरकारी रोप्नु भएको छ । तरकारी उत्पादन मेहनत अनुसार राम्रै भएको छ । उत्पादित तरकारी बजारमा थोरै मात्रै बिक्री हुन थालेकामा गौतम चिन्तित छन ।


बजारमा तरकारी बेच्न लैजाँदा लागत खर्च नै उठने गरी व्यापारीकै दरभाउमा बेच्नु पर्ने भएको छ गौतमले भने, तरकारी उत्पादन गर्दा लागेको खर्च नै नउठ्ने भएपछि निराश भएका छौँ । उत्पादित तरकारी १० देखि १५ प्रतिकिलोका दरले पनि मुस्किलले बिक्री हुन थालेको उनले बताए तरकारी उत्पादन गर्दा लागत खर्च नै प्रतिकिलो २० जति पर्ने गरेको छ, त्यसमा ढुवानी खर्च जोड्दा २२ प्रतिकिलोसम्म पर्छ, बारीमै कुहिनु भन्दा सस्तोमै बिक्री गर्न बाध्य छौँ, गौतमले भने ।



व्यापारीले आधा किलो भन्दा बढी तौलका लौका, फर्सीलगायत तरकारी खरिद गर्न मान्दैनन् त्यही भएर बेच्न नपाएर बारीमै कुहिन थालेको दिल बहादुर चौधरीले बताए । बजार सानो छ, तरकारी उत्पादन धेरै छ, त्यही भएर पनि तरकारी बिक्री गर्न समस्या छ, उनले भने । किसानले उत्पादन गरेको तरकारी महेन्द्रनगर, अत्तरिया, कैलालीको धनगढी सम्म बिक्रीका लागि लैजाने गरेका छन् । कञ्चनपुरको शुक्लाफाँटा, बेदकोट, भीमदत्त, लालझाडी, कृष्णपुर, बेलौरी लगायत क्षेत्रमा अधिक तरकारी उत्पादन हुने गरेको छ ।
पहिला उत्पादित तरकारी नेपालगञ्ज, काठमाडौँ, बुटवल सम्मका व्यापारीले खरिद गरेर लैजाने गरेका थिए । हाल कैलाली कञ्चनपुर बाहेकका जिल्लामा तरकारी बिक्री नहुँदा किसानलाई तरकारी बेच्न समस्या भएको छ । एकै गाउँबाट दैनिक कम्तीमा ५० क्विन्टल तरकारी उत्पादन हुने गरेको छ स्थानीय नरेन्द्र प्रसाद चौधरीले भने, बजार सानो छ, त्यही भएर सस्तोमै तरकारी बिक्री गर्न खोजे पनि खपत कम हुँदा बिक्री हुन पाएको छैन । स्थानीय तह र जिल्लामा रहेको कृषि ज्ञान केन्द्रले किसानले उत्पादन गरेको तरकारीको बजार प्रवर्द्धन गर्न आवश्यक रहेको किसानको भनाइ छ ।
व्यावसायिक तरकारी खेती गर्ने किसानलाई सरकारी तवरबाट प्रोत्साहित गर्न बीउबिजन, सिँचाइ, मलखाद, कृषि यन्त्र र औजारमा अनुदान उपलब्ध गराउने कार्यक्रम अघि सारिए पछि त्यसको परिणाम स्वरुप तरकारी उत्पादन गर्ने किसान बढेका छन् । स्थानीय किसानले उत्पादित तरकारी बिक्री गर्न बजार व्यवस्थापनको कार्यमा सहजीकरण गरि दिनका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन् । रासस

