

हरिश चन्द/डडेल्धुरा १० बैशाख- मालपोत कार्यालय डडेल्धुराले सार्वजनिक बिदामा समेत सेवा प्रवाह गर्ने भएको छ । सार्वजनिक सूचना जारी गर्दै मालपोत अधिकृत कमलपति भट्टले विभिन्न १९ सार्वजनिक बिदामा पनि मालपोत कार्यालयले सेवा प्रवाह गर्ने बताउनु भएको हो ।


नेपाल सरकारले २०८० वैशाख १ गते देखि चैत मसान्त सम्म वर्षभरि सबै कार्यालय तथा सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गरेको सूचना प्रकाशित भए बमोजिम भूमि व्यवस्थापन तथा अभिलेख विभागको पत्र अनुसार सार्वजनिक बिदामा कार्यालयबाट सेवा प्रवाह गरिने भएको उहाँको भनाई छ ।



मालपोत अधिकृत भट्टका अनुसार उभौली पर्व-चण्डी पूर्णीमा बुद्धजयन्ती, गणतन्त्र दिवस, रक्षाबन्धन र घोडेजात्रा, कृष्णजन्माष्टमी, गाईजात्रा, घटस्थापना, किस्मस डे, उभौली पर्व (धान्य पूर्णीमा), तमुल्होसार, पृथ्वीजयन्ती, माधि पर्व (माघे सङ्क्रान्ति), राष्ट्रिय प्रजातन्त्र दिवस, महाशिवरात्रि र अन्तर्राष्ट्रिय महिला दिवस, ग्याल्बो ल्होसार, ईद (ईदउल फित्र), बकर ईद (ईद उल अजहा), मत्छेन्द्रनाथको भोटो देखाउने जात्रा लगायतका सार्वजनिक बिदामा पनि कार्यालयबाट सेवा प्रवाह गरिने भएको छ ।
सार्वजनिक बिदाको समयमा नामसारी माग निवेदनमा तोक दर्ता गरी सनाखत गराउने तथा हकछाडपत्र मञ्जुरी निवेदनमा समेत सनाखत गराउने, डोर माग भएका लिखत निवेदनमा सनाखत गर्ने, फिल्ड निरीक्षण, सर्जमिन मुचुल्का गर्ने गराउने, लिखतको नक्कल र मिसिलको नक्कल माग भएमा उपलब्ध गराउने, एलआरआइएमएसबाट श्रेस्ताको नक्कल र प्रतिलिपि उपलब्ध गराउने लगायतका सेवा प्रवाह गरिने बताइएको छ । बिदामा पनि सेवा प्रवाह गर्दै गरेपछि स्थानीय बासिन्दा खुसी भएका छन ।


