हर्बल उद्योगमा लागेको आगो झण्डै सात घन्टा पछि नियन्त्रणमा

दाङ- बाँकेको हर्बल उद्योगमा विद्युत सर्ट भई लागेको आगो झण्डै सात घन्टा पछि नियन्त्रणमा आएको छ । बिहीबार बिहान जानकी गाउँपालिका–६ पिप्रहवा स्थित राजेश जैनले संचालन गरेको बाहुबली हर्बल प्रालिमा ७ बजे देखि सुरू भएको आगलागी दिउँसो २ बजेपछि नियन्त्रणमा आएको हो ।

आगो नियन्त्रणमा लिन जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीसहित प्रहरी अधिकारीहरू घटनास्थलमा खटिएका थिए । इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी चौकी गनापुरबाट आगो नियन्त्रणका लागि ११४ जना प्रहरी खटिएका थिए । नेपाली सेना, सशस्त्र प्रहरीसमेत गरी कुल १६४ सुरक्षाकर्मी आगो नियन्त्रणमा लागि खटिएका थिए ।

बाँके र बर्दियाका गरी ९ वटा दमकल, नेपाल प्रहरीको वाटर क्याननको समेत प्रयोग गरिएको थियो। त्यस्तै भारतको बहराईचबाट पनि एउटा दमकल आगो निभाउन आएको थियो । जिल्ला प्रहरी प्रवक्ता नारायण डाँगीले आगलागीबाट भएको धनमालको क्षतिको विवरण संकलन गर्नेक्रम जारी छ । आगलागी नियन्त्रणमा लिन झण्डै सात घन्टा समय लागेको थियो ।

Loading...