

डोटी- सर्वोच्च अदालतका प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई गृह जिल्ला डोटीमा नागरिक अभिनन्दन गरिएको छ । पारिवारिक भेटघाटका क्रममा डोटी पुगेका प्रधान न्यायाधीश श्रेष्ठलाई नागरिक अभिनन्दनसहित सम्मान गरिएको हो ।



लामो समय देखि न्याय क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएबापत उच्च सम्मानका साथ उनलाई आइतबार सदरमुकाम सिलगढीमा नागरिक अभिनन्दन गरिएको दिपायल सिलगढी नगरपालिकाका प्रमुख विजय सिंह खड्काले बताए ।


प्रधान न्यायाधीश श्रेष्ठ नेपालको इतिहासमै डोटीबाट प्रधान न्यायाधीश बन्ने पहिलो व्यक्ति हुन् । उनलाई डोटीका स्थानीय सरकार, नागरिक समाज, नागरिक सङ्घ संस्था र स्थानीयवासीद्वारा नागरिक अभिनन्दन गरिएको हो ।
प्रधान न्यायाधीश श्रेष्ठलाई शैलेश्वरी मन्दिरको प्राङ्गणमा स्थानीय बाजागाजाका साथ डोटेली सांस्कृतिक कार्यक्रम सहित अभिनन्दन गरिएको हो । श्रेष्ठको पुर्ख्यौली घर डोटीको सिलगढी बजारमा हो । शाखा अधिकृतका रूपमा २०३८ सालमा सरकारी सेवामा प्रवेश गरेका श्रेष्ठ २०८० भदौ ४ गते सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा नियुक्त भएका थिए ।





