धनगढी– सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले फोहरलाई तह लगाउन अनेक विधि अपनाउन थालेको छ। कुहिने र नकुहिने फोहरको वर्गीकरणसँगै सार्वजनिक स्थल तथा सडक किनारमा मनलाग्दी फोहर नफाल्न यात्रुलाई सम्झाउने सम्मका काम उपमहानगरले गर्दै आएको छ। सुरुमा सम्झाउने र अटेरी गरे जरिवाना सम्मै गरेर भए पनि फोहरलाई तह लगाउने काम भइरहेको हो ।




अहिलेसम्म तीन सयभन्दा बढी फोहरमैला व्यवस्थापन समिति नै गठन गरिसकिएको छ भने जथाभावी फोहर फाल्ने सोही संख्यामा कारबाहीको भागिदार समेत भइसकेका छन् । उपमहानगरको वडा नम्बर १ देखि वडा नम्बर १९ सम्मै टोलटोलमा सरसफाइ समिति गठन गरिएका छन् । धनगढीको फोहर तह लगाउने काममा विशेष गरि महिलाको सहभागि उल्लेख्य देखिएको छ । साथै विभिन्न संघसंस्था, क्लबदेखि विद्यालय सम्मै यस काममा जुटेका छन् ।


सडकमा जथाभावी फोहर फाल्ने व्यक्तिलाई उपमहानगरबाट खटिएको सरसफाइ टोलीले सम्झाउने काम पनि गर्दै आएको छ । विशेष गरि बढी भिडभाड हुने स्थान बसपार्क, सार्वजनिक चोकहरूमा उपमहानगरपालिकाले निगरानी बढाउने गरेको छ ।
जथाभावी फोहर फाल्नेबाट उपमहानगरले जरिवाना रकम पनि असुल गर्ने काम गर्दै आएको छ। धनगढीलाई सफा सहर बनाउन उपमहानगरको एउटा टीम नै लागि परेको छ । साथै फोहर व्यवस्थापनका लागि विभिन्न समयमा हुने चेतनामूलक कार्यक्रमले पनि फोहर व्यवस्थापनमा मद्दत मिलेको उपमहानगरले जनाएको छ ।

