सुदूरपश्चिममा सार्वजनिक पदका ब्यक्ती र कर्मचारीबाटै आर्थिक अनियमितता
सुदूरपश्चिम प्रदेशमा ९ महिना अवधीमा ७ सय ३९ उजुरी
धनगढी- सुदूरपश्चिम प्रदेशमा ९ महिना अवधीमा आर्थिक अनियमितता सम्बन्धीका ७ सय बढी उजुरी परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर स्थित कार्यालय कञ्चनपुरमा साउन देखी आज (चैत २७ गते) सम्ममा ७ सय ३९ उजुरी परेका हुन् ।
सार्वजनिक निर्माण तथा संघ, प्रदेश र स्थानीय तहमा बसेर पदीय दुरुपयोग गरी कैफियत गर्ने कर्मचारी र पदाधिकारी विरुद्ध धमाधम उजुरी परेको अख्तियारले जनाएको छ । सार्वजनिक पद धारण गरेका ब्यक्ती, कर्मचारी एवं पदाधिकारीले आर्थिक अनियमितता गरेको भन्दै दैनिक रुपमा धमाधम मुद्दा दर्ता भैरहेका हुन् । मुद्दा दर्ता गर्न पिडीतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर स्थित कार्यालयमा इमेल, टेलिफोन, लिखित निवेदन, हुलाक सेवा, फेसबुक, समाचार पत्र, प्रमुख जिल्ला अधिकारीबाटै तथा अन्य स्रोतको प्रयोग गरेर उजुरी मुद्दा दर्ता गराउने गरेका छन् ।


चालु आर्थिक वर्षको साउन महिनामा सबैभन्दा बढी १ सय ७३ उजुरी परेका थिए । कर्मचारी, जनप्रतिनिधि र विभिन्न संघसंस्थाको नाममा ति उजुरी अख्तियारमा दर्ता भएका थिए । इमेलबाट ४१, टेलिफोन १६, लिखित निवेदन ४० र हुलाकी सेवा ६४ फेसबुक, समाचार पत्र तथा प्रमुख जिल्ला अधिकारीबाट ३/३ उजुरी दर्ता भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको अभिलेख छ । यस्तै भदौ महिनामा हुलाकी सेवा १२, लिखित निवेदन ५१, टेलिफोन र इमेलबाट १०/१० र अन्य स्रोतबाट गरी जम्मा ८५ उजुरी दर्ता भएका थिए ।
असोजमा ८२ उजुरी परेको मध्ये हुलाक सेवाबाट १८, लिखित निवेदन ४१, टेलिफोन १० इमेलबाट ११ उजुरी दर्ता भएका थिए । यस्तै कार्तिक महिनामा ४१ उजुरी दर्ता भएकोमा हुलाक सेवाबाट १५, लिखित निवेदन १७, टेलिफोन ३, इमेलबाट ५ उजुरी छन् । मंसिरमा ९० उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा दर्ता भएका थिए । जसमा हुलाक सेवाबाट १५, लिखित निवेदन ४०, इमेलबाट १९, टेलिफोनबाट १५, वेबसाइट बाट १ उजुरी दर्ता भएका थिए । पौष महिनामा ५१ उजुरी दर्ता भएकोमा हुलाक सेवाबाट १४, लिखित निवेदन १२ , इमेलबाट १६ , टेलिफोनबाट ७ , वेबसाइट बाट १ उजुरी दर्ता भए ।
यस्तै माघ महिनामा ७१ उजुरी दर्ता भए । हुलाक सेवाबाट १४, समाचार पत्रबाट २, लिखित निवेदन २९, इमेलबाट १२, टेलिफोनबाट ११, वेबसाइट बाट २ र अन्य स्रोतबाट १ उजुरी दर्ता भएका थिए। यस्तै फागुनमा पनि ७१ उजुरी दर्ता भएका छन् । हुलाक मार्फत १५, लिखित निवेदन १४, टेलिफोन बाट ११, इमेलबाट ३० र अन्य स्रोत बाट १ उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको अभिलेखमा उल्लेख गरिएको छ । यस्तै आज चैत २७ गतेसम्म ७५ उजुरी दर्ता भएका छन् । हुलाक मार्फत २०, लिखित निवेदन ३०, टेलिफोनबाट १२, इमेलबाट १३ उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरले जनाएको छ ।
यसरी चालु आर्थिक वर्षको साउन देखि हाल सम्म ७ सय ३९ मुद्दा दर्ता भएका छन् । सार्वजनिक पदधारण गरेका व्यक्तिबाटै अनियमितता हुने गरेपछि सम्बन्धित स्थानीय उनीहरु विरुद्ध कारबाहीको माग गर्दै दैनिक रुपमा उजुरी दिन थालिएको छ । सार्वजनिक निर्माण, निर्माणमा अनियमितता, पदीय दुरुपयोग गरेर काम कारबाही गरेको लगायत विषयमा अख्तियारमा उजुरी पर्ने गरेको छ। अख्तियारमा परेका उजुरी माथि कारबाही प्रक्रिया समेत अघि बढाइएको अख्तियारले जनाएको छ ।

