पछिल्लो केही वर्षयता कञ्चनपुरमा चैते धानखेती घट्दै

कञ्चनपुर- कञ्चनपुरमा विगतको तुलनामा चैते धानखेती घट्दै गएको छ । विगतका वर्षको तुलनामा पछिल्लो केही वर्षयता चैते धानखेतीको क्षेत्र घट्दै गएको जिल्ला स्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कुनै बेला कञ्चनपुरमा तीन/चार सय हेक्टर क्षेत्रमा चैते धानखेती हुने गरेकामा अहिले उक्त क्षेत्रफल खुम्चिएर १ सय ५० हेक्टरमा पुगेको केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले जानकारी दिए । “विगतका वर्षभन्दा चैते धानको खेती घट्दो क्रममा छ । कुनै बेला ३ सय बढी हेक्टरमा खेती हुन्थ्यो”, उनले भने, “अहिले डेढ सय हेक्टर पनि पुग्न मुस्किल छ ।”

udhok dadeldhura

सिँचाइको सुविधा नहुँदा चैते धानखेती घट्दै गएको जोशीको भनाइ छ । “यो धानका लागि नियमित सिँचाइ हुने जमिन हुनुपर्छ । सबैतिर सिँचाइ सुविधा पुगेको छैन । बोरिङ हुनेहरूले मात्रै निरन्तरता दिँदै आएका छन्”, उनले भने, “कतिपयले समयमै गहुँ काट्न नसकेर र खाली जग्गा नहुँदा पनि चैते खेतीबाट छुटिरहेका छन् ।”

कृषकले बेर्ना राख्नेदेखि रोपाइँ गर्ने लगायतमा समस्या झेल्न थालेपछि चैतमा धान रोप्न छाडिएको बताउँछन् । जिल्लाको भीमदत्त नगरपालिकाको दक्षिणी क्षेत्र, वेदकोट, कृष्णपुर, बेलडाँडी, बेलौरी र पुनर्वासलगायत क्षेत्रमा चैते धानखेती बढीमात्रामा गरिनेमा अहिले कृषकको सङ्ख्या पनि घट्दै गएको केन्द्रका सूचना अधिकारी जोशीले बताए । उनका अनुसार भीमदत्त, बेलडाँडी र बेलौरीको केही क्षेत्रमा अहिले पनि खेती भइरहेको छ ।

“फागुनमै बेर्ना (बीउ) राखिन्छ । चैत मध्य सम्म धान रोपी सक्नु पर्छ”, बेलडाँडी–५ का तीर्थ रोकायाले भने, “सिँचाइको सुविधा नहुँदा समस्या हुने गरेको छ । असारमा यो धान तयार हुने भएकाले बर्खामा बाली भित्र्याउन सकस हुन्छ ।” कञ्चनपुरमा चैते धानको उत्पादन भने राम्रो हुने गरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी जोशीले बताए । निकै सम्भावना बोकेको यो खेतीबाट दोहोरो फाइदा लिन सकिने उनको भनाइ छ । “अरू बेलाको धानको उत्पादन औसत चार मेट्रिकटन प्रतिहेक्टर छ । चैते धानको उत्पादन साढे चार मेट्रिकटन भन्दा बढी छ”, उनले भने, “यो धान भित्र्याए लगत्तै अर्को खेती गरेर दोहोरो फाइदा लिन सकिन्छ ।”

चैते धानखेती विशेष गरेर चिउरा तथा भुजाका लागि उपयुक्त मानिन्छ । स्थानीयस्तरमा उत्पादित धानले सहजै बजार नपाउँदा बिक्री वितरणमा समस्या हुने गरेको कृषकको भनाइ छ । किसानलाई चैते धान तर्फ आकर्षित गर्न चैते धान प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमअन्तर्गत उक्त धान प्रदर्शनका साथै कृषकलाई बीउ वितरण गरिँदै आइएको सूचना अधिकारी जोशीले जानकारी दिए । केन्द्र र प्रधानमन्त्री कृषि आयोजनाले संयुक्त रुपमा चैते धान प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिरहेको छ । यस अन्तर्गत चैते–५हर्दिनाथ जातका धानको बीउ वितरण गरिएको उनको भनाइ छ । कञ्चनपुरको बेलौरी, पुनर्वास, भीमदत्त, बेदकोट, कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, दोधाराचाँदनी, लालझाडी लगायत क्षेत्रमा गरेर ४८ हजार चार ९६ हेक्टर जमिनमा धान खेती गरिन्छ । रासस

Loading...