कैलाली- कैलालीको जानकी गाउँपालिका–२ मा मकै खेती गर्ने किसानलाई कृषि यन्त्र वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीको वसन्ते तथा हिउँदे मकै खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि यन्त्र वितरण गरिएको हो ।



किसानलाई मकै लगाउने मेसिन, गोड्ने मेसिन, दाना छोडाउने मेसिनलगायत रु आठ लाख बराबरका सामग्री वितरण गरिएको कृषि ज्ञान केन्द्र कैलालीका बाली विकास अधिकृत रामनारायण चौधरीले जानकारी दिए । कृषि ज्ञान केन्द्र कैलालीको अनुदान सहयोगमा अन्नपूर्ण कृषक समूह कालिकापुरमा २९ हेक्टर जमिनमा मकै खेती गरिएको छ । मकै खेतीमा कृषि ज्ञान केन्द्रले ५० प्रतिशत अनुदान प्रदान गरेको छ ।


किसानलाई मकै खेती विस्तारसँगै बजारीकरणमा सहयोग पुगोस् भनेर कृषि सामग्री वितरण गरिएको बाली विकास अधिकृत चौधरीले बताए । “किसानलाई कृषिमा थप आकर्षित गर्न र हौसला प्रदान गर्न सहयोग गरिएको हो,” उनले भने, “सामग्री सहयोगले खेती गर्न र बजारीकरणमा सहयोग पुग्नेछ ।” कालिकापुरमा १ सय १९ किसानले अहिले व्यावसायिक मकै खेती गर्दै आएका छन् ।
मकै उत्पादन गर्न राम्रो क्षेत्र रहेको र बजारीकरणमा समस्या नभएकाले धेरै किसानले मकै खेती गरेका अन्नपूर्ण कृषक समूहका अध्यक्ष पदम बहादुर विष्टले बताए । “समूह मार्फत खेती गर्दा सहज भएको छ । समूह मार्फत किसानले कृषि यन्त्र प्राप्त गरेका छन्,” उनले भने, “गत वर्षको तुलनामा यस वर्ष किसानले मकै खेती गर्ने जमिन बढाएका छन् ।”