
अत्तरिया- आज सोमबारे औँसी मनाइँदैछ । औँसी तिथि र सोमबार एकै दिन परेको दिनलाई सनातन धर्मावलम्बीमा सोमबारे औँसीका रूपमा मनाइन्छ ।


यस्तो संयोग परेको दिनलाई मौनी औसी पनि भनिन्छ । यो संयोगका दिन बिहान सबेरै उठेर नबोली नुहाउनुपर्ने मान्यता छ । वैदिक परम्परामा औँसीलाई पितृको पर्व मानिन्छ । यो दिन तर्पण, श्राद्ध गर्ने वा पितृका नाममा दान गर्ने विधान छ । पुराणमा भगवान् शिव वा विष्णुको आराधना गर्ने, दान गर्ने लगायत कर्म गर्नुपर्ने बताइएको छ । यो दिन तुलसी वा पिपलको पूजा गर्ने र प्रदक्षिणा गर्ने विधान छ ।

सोमबार औँसी तिथि ४६ घडी ३५ पला अर्थात् मध्य राति १२ बजेर २७ मिनेट सम्म रहने र त्यस पछि चैत्र शुक्ल प्रतिपदा आरम्भ हुने पञ्चाङ्गमा उल्लेख छ ।