
धनगढी- कैलालीको धनगढीमा भोकेस्नलको शिलान्यास हुँदैछ । बेरोजगार युवालाई सीपमुलक तालिम प्रदान गर्न धनगढी उपमहानगरपालिका–१८ फूलबारीमा भोकेसनल स्कुलका भौतिक संरचना निर्माणको काम सोमवारदेखि सुरु हुने भएको छ । सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहका युवाले सीपमूलक तालिम लिन पाउने गरी धनगढी उपमहानगरपालिका र नेपाल युथ फाउन्डेसन बिच फूलबारीमा स्कुल स्थापना गर्न सम्झौता भएको थियो ।

सम्झौता अनुसार सोमवार देखि आवास सहितका भौतिक संरचना निर्माणको काम सुरु हुने नगर प्रमुख गोपाल हमालले बताए । उनले भने, ‘फूलबारीमा प्राविधिक शिक्षाको तालिम जारी छ । प्लम्बिङ र इलेक्ट्रोनिकको तालिम सकिएको छ । ओल्डिङ्ग र कारपेन्टरको तालिम जारी छ । युवा लक्षित कार्यक्रम हो । युवालाई स्वरोजगार बनाउने कार्यक्रम हो । निः शुल्क तालिम हो ।’


सुदूरपश्चिमका सबै पालिकाका युवाहरूलाई निःशुल्क सीपमूलक तालिम प्रदान गर्ने उद्देश्यले स्कुल स्थापना हुँदैछ । फूलबारी बहुमुखी क्याम्पसमा नेपाल युथ फाउन्डेसनको ओल्गापुरी भोकेस्नल स्कुलले प्लम्बिङ र हाउस वायरिङको तालिम दिएको छ। पहिलो चरणमा परीक्षणका रुपमा तालिम दिएकाहरूले काम सुरु गरेका छन् ।
प्लम्बिङमा २५ र हाउस वायरिङमा २८ जनाले तालिम लिएका छन् । चार विधामा तालिम सञ्चालन गरिएकोमा अन्य आवाससहितका संरचनाहरू निर्माणको काम पूरा भएपछि अन्य कार्यक्रमसमेत सुरु हुनेछन । फूलबारीमा भोकेस्नल स्कुल खोल्न नेपाल युथ फाउन्डेसनलाई ५३ रोपनी जग्गा उपलब्ध गराएको छ । स्कुलमा तीन महिने तालिम सञ्चालन गरिनेछ ।
युथ फाउन्डेसनले सुरुमा चार विधामा तालिम प्रदान गर्नेछ भने त्यसपछि माग अनुसार विधा बढाइने र दोस्रो तहको तालिम समेत दिने नेपाल युथ फाउन्डेसनले बताएको छ । धनगढी भोकेस्नल स्कुलको भवन निर्माण भएपछि पाँच वर्षसम्म नेपाल युथ फाउन्डेसनले नै स्कुल चलाउने छ । त्यसपछि भने सो स्कुल उपमहानगरलाई हस्तान्तरण गरिनेछ। स्कुल भवन निर्माण हुँदा समय लाग्ने भएकाले यो वर्षबाटै फूलबारी बहुमुखी क्याम्पसको भवनमा ३९० घण्टे सहायक प्लम्बर तथा बिल्डिङ इलेक्ट्रिसियन, बेल्डिङ र सिकर्मी तालिम सञ्चालन गरिएको हो ।