बिस करोड लगानीमा जडान गरिएका सडक बार भत्काइँदै

बैतडी– साँघुरा सडक चौडा पार्न आएको आठ करोड रुपैयाँ खर्च गर्न २० करोड रुपैयाँ लगानीमा जडान गरिएका सडक स्टिलबार (स्टिल क्रस बेरियर) भत्काउन थालिएको छ । सडकको मोड सुधार्न भित्ता खार्नुपर्नेमा मुख्य सडकमा लगाइएका स्टिलबार र कालोपत्रे भत्काउँदा दुर्घटनाको थप जोखिम बढेको छ ।

शुक्रबार बैतडी–बझाङ जोड्ने जयपृथ्वी मार्गको पाटन नगरपालिका–८, झौलेक नजिक ट्याक्टर दुर्घटना हुँदा चालक राजेश चौधरी र स्थानीय मानसिंह विष्ट (मन्धिर) को मृत्यु भएको छ । दुर्घटनामा परेको से२त ३६७८ नम्बरको ट्याक्टरमा सवार पाटन–१०, पनालीका ५३ वर्षीय मानसिंह विष्ट (मन्धिर) र ट्याक्टर चालक कञ्चनपुर निवासी ३५ वर्षीय राजेश चौधरीको घटनास्थलमै मृत्यु भएको पाटन–८ का वडाध्यक्ष हरिश विष्टले बताए ।

सडक चौडा पार्ने नाममा बैतडीको खोड्पे–बझाङ सडकखण्डको सडक बार मात्रै नभई, यसअघि २०६६ सालमा गरिएको कालोपत्रेसमेत भत्काइएको वडाध्यक्ष विष्टले बताए । पाँच वर्षअघि विश्व बैङ्कको सहयोगमा सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुला र बझाङका मुख्य लोकमार्गमा स्टिल बार जडान गरिएको थियो ।

दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विश्व बैङ्कको सहयोगमा २०७४ सालमा बैतडीको दशरथचन्द लोकमार्ग, बझाङको जयपृथ्वी लोकमार्ग र दार्चुलाको महाकाली लोकमार्गमा स्टिल बार लगाउने काम भएको थियो । खोड्पेदेखि बझाङ सडकखण्डको १०६ किमि मध्ये दुर्घटना बढी हुने ११.४५ किलोमिटर, बैतडीको सतबाँझ झुलाघाट सडकखण्डको ३७ किलोमिटरमध्ये ४.७९ र बैतडीको सतबाँझ–गोकुलेश्वर–दार्चुला सडकखण्डको १२६ किलोमिटरमध्ये १०.३३ किलोमिटर क्षेत्रमा स्टिल बार लगाइएको थियो । यी सडकखण्डको चौडाइ बढाउने र मोड सुधार्ने काम हाल आठ करोडको ठेक्का सम्झौता भई काम चलिरहेको भए पनि आयोजना स्थलमा होर्डिङबोर्ड नराखी जथाभावी काम भइरहेको नागरिकले गुनासो गरेका छन् ।

बैतडी, दार्चुला र बझाङ जोड्ने मुख्य लोकमार्ग हेर्दै आइरहेको सडक डिभिजन कार्यालय पाटन बैतडीका प्रमुख मुकुन्दप्रसाद लामिछानेले चालु आर्थिक वर्ष २०८०/८१ मा तीन वटै जिल्लाका मुख्य सडकको मोड सुधार र चौडा गरिन लागिएको बताउनुभयो । उनले सडक चौडा गर्दा भित्तो खनेर सुरक्षित ढङ्गले माटो फाल्नुपर्ने र कालोपत्रे तथा सडक बार भत्काउन नपाइने स्पष्ट गर्दै भने, “ठेकेदारले सडक बार र कालोपत्रे भत्काएको गुनासो आएको छ । बैतडी जोड्ने सतबाँझ सडकखण्डको सडक बार भत्काइएको मैले पनि देखेको छु । अन्य ठाउँमा पनि यस्तो गरिएको खबर आएमा ठेकेदारलाई सचेत गराउने छौँ ।” गोरखापत्र

Loading...