अत्तरिया- बरिष्ठ समालोचक, साहित्यकार तथा भाषाविद् प्राध्यापक डाक्टर बासुदेव त्रिपाठी र बरिष्ठ संस्कृतिविद् साहित्यकार एवं भाषाविद् प्राध्यापक डाक्टर चुडामणि बन्धुलाई मनिराज वाङ्मय पुरस्कार प्रदान गरिने भएको छ ।
महाकाव्यकार मनिराज जोशी र उनका परिवारका सदस्यहरू गोविन्दराज जोशी, तारा रोस्यारा जोशी र बसन्तराज जोशीद्वारा नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानमा स्थापित मनिराज वाङ्लय पुरस्कार २०७८ त्रिपाठी र २०७९ बन्धुलाई प्रदान गरिने छ । पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ ।
पुरस्कार बारे जानकारी दिन शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष बरिष्ठ साहित्यकार पद्मराज जोशीले ६ वर्ष देखि देशका एक जना मूर्धन्य व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको जानकारी दिए । अध्यक्ष जोशीले धनगढीमा आगामी २७ गते आयोजना गरिने एक विशेष कार्यक्रममा बरिष्ठ साहित्यकार तथा भाषाविद्द्वय त्रिपाठी र बन्धुलाई पुरस्कार अर्पण गरिने बताए । “हालसम्म राष्ट्रकवि माधवप्रसाद घिमिरे, प्राज्ञ दधिराज सुवेदी, पूर्व प्रधानमन्त्री तथा बरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्द र उपन्यासकार, कथाकार र समालोचक डा. तुलसी भट्टराईलाई यो पुरस्कार प्रदान गरिएको छ” अध्यक्ष जोशीले भने– केही कारणले दुई वर्ष वितरण गर्न नसकिएको पुरस्कार यस पटक एकै चोटी प्रदान गर्दैछौ ।
महाकाव्यकार जोशी र उनको परिवारजनले प्रतिष्ठानमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । प्रतिष्ठानले स्थापना गरेको जयराज पन्त र नृप बहादुर स्वार पुरस्कार पनि आगामी २७ गते वितरण गरिने जनाएको छ ।