कैलालीको एक सहकारीमा ठगीको आरोपमा महिला सहित २ पक्राउ

धनगढी- कैलालीको एक सहकारीमा ठगीको आरोपमा एक महिलासहित २ जना पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–४ राजीपुरमा रहेको राधाकृष्ण बचत तथा ऋण सहकारीका तत्कालीन अध्यक्ष चन्द्र प्रकाश सापकोटा र क्यासियर देवकी कुमारी जोशी पक्राउ परेका हुन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय, मालाखेती सहितको टोलीले पक्राउ गरेको हो ।

राधाकृष्ण बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन अध्यक्ष सापकोटा, व्यवस्थापक जित नारायण आचार्य, क्यासियर जोशी लगायतकाकाे मिलोमतोमा ७ लाख ८० हजार गोलमाल भएको आरोप छ । आचार्यले ७ लाखको चेक, ७५ हजार ऋणीले फोन पे मार्फत तिरेको रकम र ५ हजार १ ऋणीलाई व्याजमा छुट दिएर फरार भएका थिए । ७ लाखको चेक सहकारीका क्यासियर जोशीको नाममा काटिएकाले उनलाई पनि पक्राउ गरिएको हो ।

सहकारीका व्यवस्थापक आचार्यले गत वर्षको फागुन ३ गते राजीनामा दिएका थिए । तर, उनले फागुन महिनाको २७ दिन र चैत महिनाको तलब समेत बुझिसकेका छन् । उनी एक वर्षदेखि फरार रहेका छन् । सहकारीको छानबिन समितिको प्रतिवेदनमा सो रकम पनि फिर्ता हुनुपर्ने उल्लेख गरिएको छ । ५ हजार व्याजमा छुट दिनुको कारण समेत प्रतिवेदनले माग गरेको छ ।

तर, व्यवस्थापक आचार्यले फोन बन्द गरेका छन् । राधाकृष्ण बचत तथा ऋण सहकारीको १० करोड बढी पूँजी रहेको छ । सहकारी व्यवस्थापकले काउण्टरमा बुझाएको दाबी गर्दै आए पनि काउण्टरमा रकम जम्मा नभएको सहकारीले जनाएको छ ।

Loading...