अत्तरिया- स्थानीय तहमा लैङ्गिक तथा अपाङ्गता उत्तरदायी नीति, बजेट तथा योजना तर्जुमा विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ । युएनपिआरपिडि , युएन वमनको आर्थिक सहयोग तथा अपाङ्ग एकता समाजको आयोजनामा कैलालीको गोदावरी नगरपालिकामा स्थानीय तहमा लैङ्गिक तथा अपाङ्गता उत्तरदायी नीति, बजेट तथा योजना तर्जुमा विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
नेपाल अपाङ्ग महिला संघ कैलालीको समन्वय र राष्ट्रिय आदिवासी जनजाति महिला संघ नेपालको सहकार्यमा गरिएको कार्यक्रम अपाङ्ग एकता समाज कैलालीका अध्यक्ष अनिल मल्लको अध्यक्षतामा सम्पन्न भएको हो ।कार्यक्रमका प्रमुख अतिथी गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि दत्त भट्टले अपाङ्गता भएका व्यक्तिहरूलाई गोदावरी नगरपालिकाले सहयोग गर्ने बताए । उनले अपाङ्गता भएका व्यक्तिहरूको सहायता सामाग्री आवश्यकता अनुसार बितरण गर्ने बताउँदै क्षमता अनुसार राहत दिने बताए ।
नगरपालिकाका नयाँ संरचना अपाङ्गता मैत्री बन्ने बताउँदै उनले पुराना संरचना अपाङ्गता मैत्री बनाउन पहल गर्ने बताए । त्यसैगरी कार्यक्रममा बोल्दै नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले अपाङ्गता भएका व्यक्तिलाई सबैले सम्मान गर्नु पर्ने बताए । उनले नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरू सबैलाई सम्मान गरिरहेको बताए । प्रत्येक वर्ष अपाङ्गता भएका व्यक्तिका लागि बजेट छुट्याउने गरेको बताउँदै उनले छुट्याएको बजेट गोदावरी नगर स्तरीय अपाङ्ग संघको सल्लाह अनुसार कार्यन्वयन गर्ने गरेको जानकारी दिए ।
उनले अपाङ्गता भएका व्यक्तिका लागि नगरपालिकाबाट हुने सहयोगको कमी नहुने बताए । त्यसैगरी कार्यक्रममा सहभागी भएका दल बहादुर नेपालीले अपाङ्गता भएका व्यक्तिलाई नेताहरूले भोटको रुपमा मात्र प्रयोग गरेको आरोप लगाए । चुनावको बेला अपाङ्गता मैत्री हुने त्यसपछि नेताहरू भुल्ने गरेको उनले बताए । उनले नगरपालिका भवन अपाङ्गता मैत्री नबनेकोले अपाङ्गता भएका व्यक्तिहरूलाई सेवा लिन गाह्रो भएको बताए । अपाङ्गता भएका ब्यक्तिहरूका लागी हेल्प डेस्क नभएकोले काम गर्न गाह्रो भएको बताउँदै उनले नगरपालिकामा अपाङ्गता भएका व्यक्तिले काम गर्न आउँदा नगरपालिकाका कर्मचारीबाट अपहेलना सहनु परेको बताए ।
त्यसैगरी रमेश ताम्राकारले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आफ्नो बजेटको ५ प्रतिशत अपाङ्गता भएका व्यक्तिका लागि छुट्याउनु पर्ने बताए । यातायातमा अपाङ्गता भएका व्यक्तिका लागि छुट्याएको ४५ प्रतिशत छुटको ब्यवस्था सुदूरपश्चिम प्रदेशमा कार्यान्वयन नभएको बताए । नेपाल अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका सचिव नरदिप धामीले गोदावरी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि सहायक सामाग्री बितरण गर्दै आएको बताए । उनले अपाङ्गता भएका व्यक्तिलाई सहायक सामाग्रीले मात्र नहुने बताउँदै अपाङ्गता भएका व्यक्तिलाई सीपमुलक तालिम दिएर रोजगारको सृजना गर्नु पर्ने बताए ।
कार्यक्रममा उपस्थित सबैलाई कृष्ण गहतराजले स्वागत गर्दै अपाङ्गका भएका व्यक्तिका लागि स्थानीय सरकार सबै भन्दा नजिकको सरकार भएको बताउँदै गोदावरी नगरपालिकालाई अपाङ्गता मैत्री बनाउनु पर्ने बताए । कार्यक्रमको सञ्चलन कुश्मी जोशीले गरेकी थिइन । यसैबिच अपाङ्गताका सवालमा गोदावरी नगरपालिकाका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाइएको छ । अपाङ्गताको हकहितका लागि गठन भएका विभिन्न ६ वटा सङ्घसंस्थाहरूले नगरपालिकाका सबै जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतलाई १० बुँदे ज्ञापन पत्र बुझाएका हुन ।
उक्त ज्ञापन पत्रमा नगरपालिकामा अपांगता भएका व्यक्तिहरूलाई सेवा प्रवाह गर्न हेल्प डेस्कको व्यवस्था गरिनुपर्ने, नगरभित्रका सार्वजनिक सेवाका भौतिक संरचनाहरू पूर्ण रुपमा सबैका लागि पहुँचयुक्त बनाइनु पर्ने, अपांगता भएका व्यक्तिहरूलाई लक्षित गरी योग्यता र क्षमताको आधारमा रोजगारी तथा आयआर्जनका अवसर सृजना गरिनु पर्ने, नगरका सम्पूर्ण गतिविधिहरूमा समान र अर्थपूर्ण सहभागिताको सुनिश्चितता हुनुपर्ने, नगरक्षेत्र रहेका अपांगता भएका व्यक्तिहरूलाई यातायातमा रहेको छुटको व्यवस्थालाई अनिवार्य कार्यान्वयन गराइनु पर्ने लगायत रहेका छन ।