लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । चौधरी गत वर्ष वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्र गरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

एक महिना अघि केन्द्रमा फेरिएको सत्ता गठबन्धन संगै नेकपा माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिए पछि चौधरी अल्पमतमा परेका थिए । यस बीचमा बहुमत जुटाउने प्रयास गर्दै उनले बिहीबार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक आह्वान गरेका थिए ।

बहुमत जुटाउन असफल भएपछि प्रदेश सभा बैठकमा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन् । राजीनामा घोषणा गर्दै उनले प्रदेशको विकास र समृद्धिका लागि अब बन्ने सरकारलाई गुण र दोषका आधारमा समर्थन र आलोचना गर्ने बताए ।

चौधरीको राजीनामा संगै नयाँ सरकार गठनको बाटो खुलेको छ । गठबन्धनको भाग बण्डामा लुम्बिनी सरकारको नेतृत्व पाएको माओवादीले नयाँ सरकार बनाउन दलहरूसँग छलफलमा जुटेको छ ।

माओवादी केन्द्र लुम्बिनीका दल नेता जोख बहादुर महराले भोलि नै शपथ लिने गरी तयारीमा लागेका छन् । यस अघि २०७९ साल पुस २७ गते नेकपा एमालेका संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री हुँदा महरा करिब तीन महिना अर्थमन्त्री बनेका थिए । नयाँ गठबन्धनले सरकारको नेतृत्वका लागि अन्य साना दलहरु सँगको छलफल गरी भाग बण्डा लगाइसकेको स्रोतको दावी छ ।

सत्ता साझेदार दलहरू नेकपा एमाले, माओवादी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी बीच लिखित समझदारी पत्र तयार भएको  र बिहीबार नै हस्ताक्षर गर्ने स्रोतको भनाइ छ ।

Loading...