नक्कली टिकट ठेली प्रकरण : वर्तमान र पूर्व अध्यक्ष धरौटीमा रिहा

अत्तरिया- अत्तरिया महोत्सवको नक्कली ठेली प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्व अध्यक्ष र वर्तमान अध्यक्ष दुबै जना आज (बुधवार) आठ दिन पछि धरौटीमा छुटेका छन् ।

उक्त प्रकरणमा मुछिएका अत्तरिया उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष कल्याण सिंह बोहरा र पूर्व अध्यक्ष अशोकराज देवकोटा जनही ५० हजार धरौटीमा रिहा भएका छन् । बुधवार भएको थुनछेक बहस पछि उनीहरूलाई सरकारी वकिलको कार्यालयले छुटाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीको फरार सूचीमा रहेका वर्तमान अध्यक्ष कल्याण सिंह बोहरा र पूर्व अध्यक्ष अशोकराज देवकोटाले जिल्ला प्रहरी कार्यालय कैलालीमा पुगेर चैत्र १४ गते आत्म समर्पण गरेका थिए । दुबै जना करिब डेढ महिना देखि फरार थिए । दुबै जना सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट ठेली प्रकरणमा जोडिएका थिए ।

प्रादेशिक महोत्सवमा २८ वटा ठेली नक्कली टिकट फेला परेका थिए । प्रादेशिक महोत्सवमा १ लाख ४० हजारको नक्कली टिकट बिक्रीका लागि ठेली छपान गरिएको थियो । दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, स्ववियुले प्रतिटिकटमा २ रुपैयाँ पाउने सम्झौतामा बिक्रीको काम गरेको थियो । रेडक्रसले समेत १ रुपैयाँ पाउने सम्झौता थियो । तर, संघका महासचिव खड्काले २८ वटा नक्कली ठेली नियन्त्रणमा लिएपछि घटना प्रहरीमा पुगेको हो । 

Loading...