रेशम चौधरी दम्पती बीचको विवादले नागरिक उन्मुक्ति पार्टीको बैठकमा कुटाकुट

धनगढी- रेशम चौधरी दम्पती बीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्ति पार्टीको बैठकमा कुटाकुट भएको छ । अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेका बेला नेताहरू बीच हात हालाहाल भएको हो ।

वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने रन्जिता पक्ष र नहुने रेशम पक्षबीच भएको विवादले कुटाकुटको अवस्था सिर्जना भएको नाउपाका एक नेताले बताए। नाउपा केन्द्रीय समिति संस्थापक सदस्यहरूको बैठकमा कुटाकुट भएको दृश्य छिमेकी घरका मान्छेहरूले देखेका हुन् ।

विवादका क्रममा टिकापुरका मेयर रामलाल डगौरा र नेता रमेश विक माथि हातपात भएको बताइएको छ । उनीहरू दुवैजना रन्जिता पक्षका हुन् । नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि सो पार्टीमा पछिल्लो समय संस्थापक २१ जना केन्द्रीय सदस्यहरूको बैठक बस्ने गरेको छ ।

रेशम पक्ष सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा सहभागी छ । रन्जिता पक्ष भने त्यसको विपक्षमा छ । त्यस्तै केन्द्रमा रन्जिता अहिलेको सत्ता गठबन्धनमा जानुपर्ने पक्षमा छिन् भने रेशम विपक्षमा छन् । यो विवाद बढ्ने क्रममा रेशम दम्पती बिच दूरी समेत बढेको छ ।

Loading...