धनगढी- कैलालीमा वन पैदावार र चोरी मुद्दाका ४ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका ४ जना प्रतिवादीहरु लाई आइतबार प्रहरी टोलीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा बिना इजाजत वन पैदावार काटी ओसार पसार मुद्दामा ५ हजार ३६ जरिवाना ठहर भएका कैलारी गाउँपालिका ६ का रामकुमार चौधरी, चोरी मुद्दामा १२ हजार ५ सय जरिवाना ठहर भएका कैलारी गाउँपालिका ६ का अशोक चौधरी तथा सोही मुद्दामा २५ दिन कैद सजाय ठहर भएका जानकी गाउँपालिका ८ का प्रेम चौधरी, र जानकी गाउँपालिका ८ का शिवराज चौधरी छन् ।
उनीहरु चारै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी ईकाइहरु बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेकालाई कारागार चलान गरिएको छ ।