कैलाली- कैलालीको राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा ३५ दिनभित्र आफै भत्काउने सर्वपक्षीय-सर्वदलीय सहमति भएको छ । शनिवार विद्यालयमा बसेको सर्वपक्षीय-सर्वदलीय बैठकले अतिक्रमण गरिएको ८ कट्ठा जमिनमा बनेका भौतिक संरचना खाली गराउने निणर्य गरेको हो ।
विद्यालयको जग्गामा बसोबास र व्यापार गर्दै आएकाहरूले संरचना खाली गर्ने विषयमा सहमति जनाएका छन् । विद्यालयको कित्ता नम्बर ९७ मा बसोबास गर्दै आएकाहरूले संरचनाहरू ३५ दिन भित्र आफै भत्काउने सर्वपक्षीय-सर्वदलीय बैठकमा निणर्य गरेको विद्यालयले जानकारी दिएको छ । विद्यालयको विरुद्धमा जिल्ला अदालत पुगेकाहरूको स्टे अडर खारिज भए पछि ३५ दिनभित्र संरचना भत्काउने भएका छन् । विद्यालयले शनिवार बल प्रयोग गरेर संरचना भत्काउने तयारी गरेकोमा राजनीतिक दलहरूका प्रतिनिधि सहितको बैठकले ३५ दिनको समय माग गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र हमालले जग्गा अभावका कारण आयोजनाको रकम फिर्ता जाने अवस्थामा रहेकाले खाली गर्न सूचना जारी गरिएको बताए । उनले भने,‘ राजीनामा दिन तयार छु । मैले केही पाउनु छैन । हामी अभिभावकहाँ गएका छौ । हाम्रो अभिभावक नगरपालिका हो । डोजर नहानेसम्म हुँदैन भन्ने पनि छ । तर, फेरि समय दिएर हेरौँ ।
पहिला खाली गर्नेलाई अबिर र माला लगाउँछु पनि भनेको थिए ।’ जग्गा अभावले पाँच वर्ष देखि ९३ करोडको आयोजना निर्माणको चरणमा गएको छैन । २०७५ सालमा दुई वटा छात्रावास भवनहरू, एक चमेना गृह र एक फिजियोथेरापी भवन निर्माणका लागि योजना परेको थियो । तर, जग्गा अभावका कारण आयोजना कार्यान्वयनको चरणमा गएको छैन । उक्त आयोजना कार्यान्वयनका लागि विद्यालयको नाममा दर्ता स्रेस्ता रहेको ९७ नम्बर कित्ताको ८ कट्ठा जग्गा खाली गर्न विद्यालयलाई समस्या परेको थियो ।
घोडाघोडी नगरपालिकालाई ठेक्का प्रक्रियाका लागि बोलपत्रको सूचना जारी गर्न विद्यालयले पत्र समेत पठाएको छ । नगरपालिका मार्फत विद्यालयमा दुई वटा छात्रावास भवन, चमेना गृह र थेरापी सेन्टर निर्माणको ठेक्का सम्झौता हुने छ । ३५ दिन सम्म ठेक्काको प्रक्रिया पूरा हुने र संरचना समेत खाली भइसक्ने दाबी गरिएको छ । घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावतले अतिक्रमण गरिएको जग्गा खाली गर्ने र ठेक्का प्रक्रियाको काम एकसाथ सुरु हुनुपर्ने बताए । राष्ट्रिय माध्यमिक विद्यालयको पूर्वतिर रहेको ८ कट्ठा जमिनमा निर्माण गरिएका घर-टहरा हटाएर विद्यालयले भवन निर्माण गर्ने तयारी छ ।