सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारलाई नेकपा एसले समर्थन गर्ने संकेत

धनगढी- सुदुरपश्चिममा नेपाली कांग्रेसको नेतृत्वमा रहेको प्रदेश सरकारलाई नेकपा एकीकृत समाजवादीले समर्थन गर्ने संकेत मिलेको छ । केन्द्रमा पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपनि अल्पमतमा परेको सुदूरपश्चिम सरकारलाई नेकपा एसले समर्थन गर्ने सम्भावना बढेको हो ।

नेपाली कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहको नेतृत्वमा रहेको प्रदेश सरकारमा हाल नागरिक उन्मुक्ति पार्टी (नाउपा) र कांग्रेस मात्र सरकारमा सहभागी छ । मुख्यमन्त्री शाहले नाउपा सहित एक स्वतन्त्र सांसद र एक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसदको समर्थन लिई विश्वासको मत लिन खोजे पनि नाउपामा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी बीचको विवादले समस्या भएको छ ।

यसै क्रममा केन्द्रमा नयाँ गठबन्धनमा रहेको एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा कमल शाह नेतृत्वको सरकारलाई समर्थन गर्ने संकेत गरेको छ । एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीले नयाँ गठबन्धनमा आफ्नो दलको सम्मानजनक हैसियत नस्वीकार्न अवस्था देखिएकाले नयाँ निणर्यमा पुग्ने बताए । उनले नयाँ गठबन्धनमा छलफल चलिरहेको बताए । तर हाम्रो सम्मानजनक अवस्था स्वीकार्ने संकेत नदेखिँएकाले हामी चाँडै नयाँ निणर्यमा पुग्ने बताए ।

सोडारीले आफूहरू जसलाई सहयोग गर्न पनि स्वतन्त्र रहेको बताए । उनले भने, ‘मुख्यमन्त्री कमल शाह अहिले सम्म विश्वासको मतका लागि प्रदेश सभामा जानु भएको छैन । विश्वासको मतका बेला हाम्रो सहयोग रहन सक्छ ।’ यता मुख्यमन्त्री कमल शाहले पनि एकीकृत समाजवादीसँग पनि सकारात्मक छलफल भइरहेको बताए । उनले भने, ‘हामी विश्वासको मत पाउँछौं। २/३ दिनभित्र विश्वासको मत लिन्छौं ।’ नेपाली कांग्रेस, नाउपा र एकीकृत समाजवादी एक ठाउँमा भए कमल शाह नेतृत्वको सरकारले सहजै विश्वासको मत पाउने छ । कांग्रेसका १८, नाउपाका ७ र एकीकृत समाजवादीका ४ जना प्रदेशसभा सदस्य रहेका छन् ।

नयाँ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले भने आज नै प्रदेश संसदीय दलको बैठकबाट नयाँ समीकरण अनुसार सरकार गठन गर्न पहल गर्ने निणर्य गरेको छ । संसदीय दलका नेता मानबहादुर धामीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले नयाँ समीकरणअनुसार सरकार निर्माण गर्न पहल गर्ने निणर्य गरेको हो । नेता धामीले संघमा बनेको नयाँ समीकरण अनुसार सरकार निर्माण गर्ने निणर्य गरेको जानकारी दिए ।

शाहले २२ चैत भित्र प्रदेश सभामा विश्वासको मत लिनु पर्नेछ । शाहले आफ्नो पक्षमा बहुमत जुटाउन नाउपाका सात मध्ये पाँच जनालाई मन्त्री बनाएका छन् तर नाउपाको आन्तरिक किचलोका कारण मुख्यमन्त्री शाहले विश्वासको मत लिने मिति तय गर्न सकेका छैनन् । कांग्रेसका १८ र नाउपाका ७ गरेर शाहको पक्षमा २५ जना छन् । राप्रपाकी खेमा देवी विष्ट र स्वतन्त्र सांसद डा. तारा प्रसाद जोशीको समर्थन लिएर शाह आफ्नो पक्षमा बहुमत सांसद २७ जना पुर्‍याउने पक्षमा छन् ।

Loading...