सुदूरपश्चिमकी ‘चेली’ अमिसा २० वर्षमै बनिन् पाइलट

धनगढी- सुदूरपश्चिम स्थित बाजुराको बुढीनन्दा नगरपालिका-७ पान्डुसैनकी अमिसा कार्की कलिलैमा पाइलट बन्ने भएकी छन् । बाजुरा जस्तो दुर्गममा जन्मिएर पढेकी २० वर्षीय अमिसा हाल साउथ अफ्रिकामा छिन् ।

उनले उतै हालै पाइलटको ट्रेनिङ र पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको जनाइएको छ । गत मङ्सिरमा नेपाल छोडेकी उनी साउथ अफ्रिका पुगेर पढ्न थालेकी थिइन् ।

उनका पिता मीन कार्कीले छोरीको सफलताले आफू निकै हर्षित भएको बताउँदै छोरी पाइलट बन्ने भएको जानकारी दिए। उनले आफ्नी छोरीले १८ महिने ट्रेनिङ सकेको र अब नेपालमा लाइसेन्स लिएर पाइलट बन्न सकिने बताए । उनका पिताका अनुसार अमिसाले बाजुराबाटै १० कक्षा पास गरेर काठमाडौं गएकी थिइन् भने काठमाडौंबाट १२ पास (प्लस टु) पास गरेर साउथ अफ्रिका उडेकी थिइन् ।

अमिसा मीनकी जेठी छोरी हुन् । मीनका जम्मा ५ वटा सन्तानमध्ये ४ छोरी र १ छोरा छन् । मीनको भने अमिसालाई डाक्टर बनाउने चाहना भएकोमा अमिसाकै इच्छाअनुसार पाइलट बनेको बुझिएको छ । उनी बाजुरा मात्र होइन, सुदूरपश्चिमकै पहिलो महिला पाइलट भएको दाबी गरिएको छ। अहिले उनलाई बधाईको समेत ओइरो लागेको छ ।

Loading...