धनगढी- नेपाल–भारत स्थित सुदूरपश्चिमसँग जोडिएका पाँच नाकाबाट तीन दिनमा ९ सय ७७ जना स्वदेश फर्किएका छन् । कैलालीको गौरीफन्टा, खग्रौला हेल्थ डेस्क, कञ्चनपुरको गड्डाचौकी, पुलघाट र जोलाजिबी नाका दार्चुला र जुलाघाट नाका बैतडीबाट तीन दिनमा ९ सय ७७ जना स्वेदश फर्किएका हुन् । आइतबार जुलाघाट नाका बैतडीबाट २०, गौरीफन्टा नाका कैलालीबाट एक सय ४९, पुलघाट नाका दार्चुलाबाट ८ र खग्रौला हेल्थ डेक्स एक सय गरेर दुई सय ७७ जना भारतका विभिन्न सहरबाट सुदूरपश्चिम प्रवेश गरेका हुन् ।
यो संख्या सोमबार बढेको छ । सोमबार जुलाघाट नाका बैतडीबाट १७, गौरीफन्टा नाका कैलालीबाट तीन सय १८, पुलघाट नाका दार्चुलाबाट १० र हेल्थ डेस्क ४९ गरेर तीन सय ९५ जना स्वदेश फर्किएका हुन् । हिजो (मंगलबार) पनि तीन सय ५ जना स्वदेश फर्किएका छन् ।
हिजो गड्डाचौकी नाका कञ्चनपुरबाट २१, जुलाघाट नाका बैतडीबाट ४, गौरीफन्टा नाका कैलालीबाट दुई सय १९, हेल्थ डेस्क ६१ गरेर तीन सय ५ जना भारतका विभिन्न सहरबाट सुदूरपश्चिम प्रवेश गरेका छन् । नयाँ वर्ष अर्थात सुदूरपश्चिमको मुख्य चाड विशु पर्व नजिकिदै गर्दा भारतका विभिन्न सहरमा श्रम गर्न तथा अध्ययनको सिलसिलामा पुगेकाहरू यतिबेला घर फर्कन थालेका छन् ।
सुदूरपश्चिमबाट रोजगारीका लागि परिवारसहित गएकाहरू पनि यतिबेला विशुपर्व मनाउन आफ्नै गाउँघर फर्कन थालेका छन् । पछिल्लो केहि दिनयता विभिन्न सीमा नाका भएर स्वदेश फर्कनेको संख्या बढ्न थालेको पाइएको छ । साथै सीमा नाकाबाट स्वदेश फर्कनेहरूको दैनिक रुपमा अभिलेख राख्ने काम हुँदै आएको छ ।