काठमाडौँ- आगामी वैशाख १५ गते हुने बझाङ १ को प्रदेश सभा सदस्य १ र इलाम-२ को प्रतिनिधि सभा सदस्यमा हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका छुट्टाछुट्टै उम्मेदवार हुने भएका छन् ।
सत्ता गठबन्धनमा हाल नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जनता समाजवादी र नेकपा एकीकृत समाजवादी छन् । यी पाँच दलमध्ये जसपा अनिणर्ीत बन्दा नेकपा एमालेले इलाम २ मा सुहाङ नेम्वाङ र बझाङमा दमन बहादुर भण्डारीलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ ।
त्यस्तै प्रदेशसभा तर्फ उम्मेदवारी नदिने निणर्य गरेको सत्ता गठबन्धन भित्रकै दल रास्वपाले इलाम-२ मा उम्मेदवारको खोजी गरिरहेको छ । उसले स्वतन्त्र उम्मेदवारी दिएका मिलन लिम्बुलाई समर्थन गर्ने वा आफ्नै उम्मेदवार उठाउने भन्ने अन्तिम निणर्य गरिसकेको छैन । अर्को सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले पनि दुवै स्थानमा उम्मेदवारी उठाउने निश्चित भएको छ ।
यद्यपि यो पार्टीले पनि आधिकारिक निणर्य नगरे पनि नेता झलनाथ खनालले इलामा-२ मा जीत बहादुर राई र बझाङ प्रदेश सभामा दिल बहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको बताए । माओवादी केन्द्रले पनि उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने निणर्य गरेको छ । बुधवार बिहान बसेको माओवादी केन्द्रीय सचिवालय बैठकले जिल्लाको समन्वयनमा पार्टी अध्यक्ष प्रचण्डलाई उम्मेदवार तय गर्न जिम्मेवारी दिएको छ । नेकपा माओवादी इलाम जिल्ला कमिटीले चार जनाको नामावली माथिल्लो कमिटीलाई सिफारिस गरिसकेको छ ।
उपनिर्वाचनका लागि आगामी चैत २४ गते उम्मेदवारी दिने कार्यतालिका छ । त्यसअघि दलहरू बिच एक अर्कामा बार्गेनिङ पावर बढाउन उम्मेदवारी दिने रणनीति पनि भएको हुनसक्ने कतिपयको बुझाई छ । जस अनुसार गठबन्धन भित्रका दलहरू बिच अन्तिम समय सम्म अहिले सम्मको निणर्यमा फेरबदल समेत हुन सक्ने कतिपय नेताहरूको भनाइ छ ।