कर्णालीमा बेपत्ता शाहीसँगै हाम फालेका ६ जना प्रहरीको नियन्त्रणमा

धनगढी- सोमबार दिउँसो सामूहिक तस्बिर खिच्ने भन्दै चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका युवकको खोजी कार्य स्थगित गरिएको छ । कर्णाली नदीमा बेपत्ता भएका लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाहीको मंगलबार दिनभर खोजी गरिएको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोरको टोली र स्थानीय समेतले शाहीको खोजी गरेपनि उनी भेटिएका छैनन् । साँझ परेका कारण मंगलबार लाई खोजी कार्य स्थगित गरिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए ।

udhok dadeldhura

‘हामीले सशस्त्र प्रहरीको गोताखोरको टोली सहित नदीमा उहाँको खोजी गरेका थियौँ तर भेटिनु भएको छैन,’ प्रहरी निरीक्षक डाँगीले भने, ‘आज साँझ परिसकेकाले खोजी कार्य स्थगित गरिएको छ । भोलि बिहानै देखि पुनः खोजी गरिनेछ ।’
सोमबार होलीमा रमाइलो गर्दै कर्णाली पुलमा पुगेका १७ जना युवाले एक साथ कर्णाली नदीमा हाम फालेका थिए । उनीहरु मध्ये १६ जना पौडी खेलेर सकुशल तैरिए पनि शाही भने नदीमै बेपत्ता भएका थिए ।

इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार माथिल्लो शरीरको कपडा फुकालेर सडकमा डुलिरहेका उनीहरूलाई नदीतर्फ नजान भनिएको थियो तर साथीहरू धेरै पछि भेट भएकाले सामूहिक तस्बिर खिच्न गइ रहेको भन्दै उक्त समूह अघि बढेको थियो ।

प्रहरी निरीक्षक डाँगीले कर्णाली नदीमा हाम फालेका मध्येका ६ जनालाई घटनाबारे सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए । उनका अनुसार उनीहरूलाई सोधपुछ पछि मात्र घरपरिवारको जिम्मा लगाइनेछ ।

Loading...