धार्मिक सहिष्णुताका साथ मुलुकमा शान्ति कायम गर्न सबै पक्षको योगदान आवश्यक : प्रदेश प्रमुख मिया

कैलाली- सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाले धार्मिक सहिष्णुताका साथ मुलुकमा शान्ति कायम गर्न सबै पक्षको योगदान आवश्यक रहेको बताएका छन् ।

अन्तर धार्मिक सद्भाव समन्वय सङ्घ नेपाल रूपन्देहीले आइतबार धनगढीमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले धार्मिक र जातीय द्वन्द्व जस्ता गतिविधि हुन नदिन र सबै जातजाति, धर्मका मानिस बस्न र खेल्न पाउने वातावरण बनाउने गरी काम गर्नु पर्नेमा जोड दिए । कुनै पनि धर्ममाथि कसैले हस्तक्षेप गर्न नमिल्ने प्रदेश प्रमुख मियाले बताए ।  

प्रदेश प्रमुख मियाले सुदूरपश्चिम धार्मिक रूपमा शान्त भएको बताउँदै सधैँ शान्त राख्न सजग भएर अघि बढ्नु पर्ने बताए । उनले धार्मिक सद्भाव सङ्घका तर्फबाट सम्मान गरिएको हो । सङ्घका उपाध्यक्ष चन्दा थापाले प्रदेश प्रमुख मियाको नेतृत्वमा रूपन्देहीमा केही महिना अघि सो संस्था गठन गरिएको जानकारी दिए ।

उनका अनुसार सो संस्थामा नेपालमा रहेका सबै धर्मका अगुवा सम्मिलित छन् । सो संस्था देशभर धार्मिक द्वन्द्व हुन नदिने गरी काम गर्न स्थापना भएको उपाध्यक्ष थापाले बताए । धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले मियाको अध्यक्षतामा रूपन्देहीमा अन्तर धार्मिक सद्भाव सङ्घ गठन गरिएको थियो ।

सङ्घका केन्द्रीय अध्यक्ष प्रदेश प्रमुख नियुक्त भएपछि सम्मान गर्न रूपन्देहीको टोली कैलालीको धनगढी पुगेको हो । सम्मान कार्यक्रममा रूपन्देहीका शोभाकर पौडेल, सुरेश थापा लगायतले प्रदेश प्रमुख मियाको नियुक्तिका लागि बधाई र कार्यकाल सफलताको शुभकामना दिए ।

Loading...