डुंगा पल्टिँदा एक जना बेपत्ता

बाजुरा- बाजुराको छेडेदह तालमा डुंगा पल्टिदा एक जना बेपत्ता भएका छन् । खप्तड छेडेदह गाउँपालिकामा रहेको छेडेदह तालमा डुंगा पल्टिँदा सोही गाउँपालिका ७ लम्गाउँका गणेश रावतका छोरा अन्दाजी ३२ वर्षका बिरेन्द्र रावत बेपत्ता भएका हुन् ।

आज (आइतबार) दिउँसो तालमा डुंगामा चढेको बेला अचानक तालमा डुंगा पल्टिदा रावत बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । डुंगामा सवार अन्य ६ जना भने सकुशल रहेको बताइएको छ । अहिले प्रहरीको टोली घटना स्थल तर्फ गएको र रावतको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Loading...