कैलालीको अत्तरियामा रहेको सत्यवती एकेडेमीले सामाजिक उत्तरदायित्व वहन गर्दै
पहिलाे चरणमा दुई ओटा बिद्यालयलाई सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्ने
अत्तरिया- कैलालीको गोदावरी नगरपालिका २ अत्तरियामा रहेको सत्यवती एकेडेमीले गुणस्तर शिक्षा क्षेत्रमा मात्र नभई सामाजिक उत्तरदायित्व समेत बहन गर्दै आइरहेको छ । यस गोदावरी नगरपालिका भित्र रहेका सरकारी स्कुलहरुको दयनीय अवस्थालाई मध्यनजर गर्दै गोदावरी नगरपालिका वडा नं. १० मा रहेको शंकर आधारभुत विद्यालय र वडा न. ६ मा रहेको नवदुर्गा आधारभूत विद्यालयको गुणस्तर बृद्धी सँगै उक्त विद्यालयमा अध्ययनरत विद्यार्थी एवम् शिक्षकको उज्जल भविष्यको कामना गर्दै सत्यवती एकेडेमीले बिभिन्न माध्यमबाट सहयोग गर्ने जनाएको छ ।
गोदावरी १० मा रहेको शंकर आधारभूत विद्यालयलाई पहिलो चरणमा मन्टेश्वरीका लागि कक्षा निर्माण गर्ने जनाएको छ भने नवदुर्गा आधारभूत विद्यालयमा पनि स्मार्ट बोर्ड सँगै इन्टरनेट जोड्ने काम भै सकेको र बाँकी आवश्यक काम गर्ने जानकारी सत्यवती एकेडेमीका सञ्चालक बिर बहादुर कडायतले बताए ।
आगामी शैक्षिक सत्र वैशाख देखि गरीब आर्थिक अवस्था एकदमै नाजुक जसले विद्यालयको ड्रेस, ब्याग लगायत शैक्षिक सामग्रीहरू खरिद गर्न नसक्ने विद्यार्थीहरू लाई सहयोग गर्ने भएको बताए। उनले यी विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई सहयोग मार्फत स्टेसनरीको व्यवस्था गर्ने प्रतिबद्धता समेत गरे ।
स्टेसनरीको व्यवस्था यस सत्यवती एकेडेमीमा अध्ययनरत विद्यार्थीहरूबाट सुरुवात गरिने भएको बताए । विद्यार्थीहरूलाई समाजिक उत्तरदायित्व बहन गर्नु पर्छ र अशक्तलाई सहयोग गर्नु पर्दछ भन्ने धारणाका साथ विद्यार्थी लगायत अभिभावकहरूलाई समेत यस सामाजिक क्रियाकलापमा जोड्ने भएको उनले बताए ।
सञ्चालक कडायतले आफूले सहयोग गरेका विद्यालयका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयकै खर्चमा भ्रमण गर्न लैजाने साथै यस बिदाको दिनमा यस सत्यवती एकेडेमीमा भएका विभिन्न स्रोतसाधन सँगै छुट्टाछुट्टै क्रियाकलापहरूमा विद्यार्थीहरूलाई सहभागी गराउने बताए । कडायतले “विद्यार्थीहरूलाई आर्थिक रुपमा विपन्न भएपनि आफ्नो शैक्षिक क्षेत्रमा मन छुटाउनु हुन्न आफ्नो इच्छा शक्ति भएपछि भोलिको दिनमा कमजोर मानिस पनि ठूलो पद सम्हाल्न सक्ने हुन्छ भन्ने प्रण दिने छौ“ उनले भने, “विद्यालयमा हुने शैक्षिक गुणस्तर, सरसफाइ, भौतिक, शिक्षक/शिक्षिकाहरुको विकासका लागि विभिन्न कार्यहरू सञ्चालन गर्दै आइरहने छौ उनले भने ।”
“सहयोग गर्नुको मुख्य उद्देश्य १२ वर्ष देखि विद्यालय सञ्चालन गर्दै आइरहेको यस सत्यवती एकेडेमीले यस क्षेत्रमा निजी क्षेत्रको अग्रणी संस्था भएको कारण साथै शैक्षिक अगुवा भएको नाताले आफ्नो विद्यालयलाई मात्र नभई हामीले समाजको लागि पनि केही गर्नु पर्दछ, हामी सँग पहुँच नपुग्ने विद्यार्थीहरूको गुणस्तर विकासको लागि पनि केही गर्नु पर्दछ भन्ने सोचले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता क्रियाकलाप गर्न गइरहेको बताए ।
उक्त कार्यक्रम सञ्चालन गरे सँगै १ वर्ष भित्रमा विभिन्न क्षेत्रमा गुणस्तर शिक्षामा जोड दिई परिवर्तन देखाउने छौ साथै अभिभावक वर्गहरूमा हाम्रो विद्यालयको तर्फ बाट विद्यार्थीहरूलाई राम्रो विद्यालयमा पढेको सुविधा प्रदान गराउने विश्वास दिलाउन प्रयास गर्ने छौ । सञ्चालक कडायतले विद्यालयको तर्फबाट वर्षमा २ विद्यालयलाई सहयोग स्वरूप १ वटा विद्यालयलाई वर्षको २ लाख सम्म सहयोग गर्ने साथ विद्यार्थीहरूलाई पनि सामाजिक क्रियाकलापमा जोड दिने बताएका हुन् ।
पालिका भित्र रहेका यी दुई आधारभूत विद्यालयलाई सहयोग गर्नुको कारण उक्त विद्यालयमा ९० प्रतिशत भन्दा बढी आर्थिक स्थिति कमजोर विपन्न दलित, जनजाति परिवारका छोराछोरीहरू अध्ययन गर्दै आइरहेको हुनाले पहिलो प्राथमिकता दिएको सत्यवती एकेडेमीकी प्रिन्सिपल यशोदा ध्याडी कडायतले जानकारी दिइन ।
त्यस्तै गोदावरी ६ लालपुरमा रहेको नवदुर्गा आधारभुत विद्यालय प्रधानाध्यापक धर्मा अवस्थीले उक्त विद्यालय २०५० सालमा स्थापना भएको बताउँदै आफु २०६२ देखि उक्त विद्यालयमा निरन्तर प्र.अ. रहि रहेको बताइन् । यस विद्यालयमा ९० प्रतिशत जनजाति र दलित आर्थिक अवस्था कमजोर भएका बालबालिका पढ्दै आइरहेको बताइन् । उनले सत्यवती एकेडेमीले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूको पढाइमा सहजिकरण साथै प्रविधि मैत्री बनाउनका लागी यस नवदुर्गा विद्यालयमा एउटा स्मार्ट बोर्ड सँगै इन्टरनेट जडान गरिदिएको बताइन । उक्त विद्यालयमा १ सय ७० जना विद्यार्थीहरूलाई पठनपाठन गराउँदै आइरहेको बताइन् । साथै हर्षित हुँदै आफ्नो व्यक्तिगत लगायत सम्पूर्ण विद्यालयको तर्फबाट सत्यवती एकेडेमीलाई आभार व्यक्त समेत गरिन् ।
त्यस्तै गोदावरी १० मा रहेको शंकर आधारभूत विद्यालयका प्रधानाध्यापक भक्त बहादुर रावलले यो विद्यालय २०३७ सालमा स्थापना भएको बताए । आफुले यस विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी समालेको २/३ बर्ष भएको बताउँदै हाम्रो विद्यालयमा ८१ जना विद्यार्थीहरू अध्ययनरत रहेको विद्यालयलाई मर्ज गर्ने की भन्नेमा गोदावरी नगरपालिकाले राखेको बताए । ६० प्रतिशत विद्यार्थी दलित र जमै गरिब ढुंगा गिट्टी कुट्नेका विद्यार्थीहरू अध्ययन गर्ने गर्छन । यस विद्यालयमा खर्चको जोहो गर्न पनि निकै नै मुस्किल परेको बताए ।
सत्यवती एकेडेमीले सामाजिक उत्तरदायित्व अन्तरगत यस विद्यालयमा कक्षा सजावट लगायतका अन्य आवश्यक सामाग्रीहरू जुटाउनमा सहयोग गरि रहेको बताए । सत्यवती एकेडेमीको सहयोगले हाम्रो विद्यालय एउटा उदाहरणीय बनाउने भूमिका रहने बताए । यस्तो किसिमको सहयोगले आफ्नो विद्यालयमा विद्यार्थीहरू भरि भराउन गराउन सकिनेमा आफु विश्वस्त रहेको बताए ।
गोदावरीमा सत्यवतीले एकेडेमीले यो एक किसिमको नौलो काम गर्नुभएको समेत बताए । उनले भने हामी विद्यालयमा विद्यार्थी संख्या बढाउनको लागि गाउँ गाउँमा गएर विद्यार्थी खोजी कार्यमा लाग्ने छौं । नगरपालिकालाई अनुरोध गर्दै १ वर्षको अवधि दिनु हामी यस विद्यालयलाई नमुना विद्यालय बनाउँछौं भनी प्रतिवद्धता गरेको बताए ।