धनगढीमा ठूलो स्वागतद्वार निर्माण, जडान गरियो ३२ फ्लड लाइट

धनगढी- कैलालीको धनगढीमा ठूलो स्वागतद्वार निर्माण गरिएको छ। ३२ वटा फ्लडस्ट्रिप लाइट जडान गरेर गेटलाई झिलीमिली बनाइएको छ । अत्तरियाबाट ६ लेन सडक हुँदै धनगढी प्रवेश गर्ने स्थान गेटामा झिलीमिली स्वागतद्वार निर्माण गरिएको हो । गेटको चारैतिर विभिन्न आकार दिने बत्ती जडान गरिएको छ। अत्तरियाबाट आउँदा ‘धनगढी उपमहानगरपालिकामा स्वागत गर्दछौँ’ नेपाली र अंग्रेजीमा लेखिएको साइन बोर्ड राखिएको छ भने धनगढीबाट अत्तरिया जाँदा ‘धनगढी उपमहानगरपालिकामा भ्रमण गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्दछौँ’ लेखिएको ठूलो साइन बोर्ड राखिएको छ।

गेटको माथि धनगढीतर्फ र अत्तरियातर्फ एक नासको उज्यालो दिने बत्तीहरू राखिएको छ । गेटको वरिपरिको पूरै भाग निलो, रातो हरियो आकारको रङ्ग दिने छुट्टै बत्ती जडान गरिएको छ । धनगढी गेट प्रवेश देखि उज्यालो यात्रा करिब १० किलोमिटर सीधासीधा गर्न सकिने व्यवस्था उपमहानगरपालिकाले गरिदिएको छ ।

धनगढीले निर्माण गरेर सञ्चालनमा ल्याएको प्रवेशद्वार धनगढी उपमहानगर र गोदावरी नगरपालिकाको बिचमा पर्छ । धनगढी उपमहानगरपालिकाले मोहनपुर, गेटामा स्वागतद्वार निर्माण गरेको हो । उपमहानगरले गत मंसिर २७ गते स्वागतद्वार निर्माण गर्न ठेक्का सम्झौता गरेको थियो । श्री उप्रेती बिल्डर्स एण्ड इन्जिनियर्स प्रालिसँग गेट निर्माणका लागि धनगढीले १९ लाख ५६ हजार ९८९ रुपैयाँमा निर्माण सम्झौता गरेको हो । उपमहानगरले स्वागतद्वारमा ३२ वटा फ्लड लाइट र स्ट्रिप लाइट जडान गरेको छ। ४ लाख ४७ हजार ३ सय ८१ रुपैयाँमा बत्ती जडान गरिएको छ । 

स्वागतद्वारकाे उपमहानगरपालिकाकी नगर उप-प्रमुख कन्दकला कुमारी रानाले बत्तीको स्विच अन गरेर उद्घाटन गरेकी हुन् । धनगढी प्रवेशद्वार देखि नै झिलीमिली बत्ती जडान भएर सञ्चालनमा आएपछि फोटो खिच्ने र भिडियो बनाउनेको साँझतिर भिड नै लाग्ने गरेको छ ।

प्रत्येक ट्री-गार्डमा समेत सेतो, रातो र हरियो आकारको बत्ती जडान भएपछि फोटो खिल्ने र भिडियो पारखीका लागि उपयुक्त गन्तव्य धनगढी क्षेत्र भित्र पर्ने ६ लेन सडक सहयोगी सावित बन्न पुगेको छ ।

Loading...