कक्षा १२ को परीक्षा साउन चौथो हप्ता गर्ने तयारी, परीक्षा सय पूर्णाङ्ककै हुने




काठमाडौं, ४ साउन- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको चौथो हप्ता गर्ने तयारी थालेको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) परीक्षा सञ्चालन गर्न सकारात्मक रहेको जानकारी आएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जनाएका छन् ।



माध्यामिक तहको अन्तिममा लिइने कक्षा १२ को परीक्षो राष्ट्रिय परीक्षा बोर्डले यो पटक सय पूर्णाङ्ककै परीक्षा गराउने तयारी गरेको छ । गत वर्षको मूल्यांकन पद्धति प्रभावकारी नदेखिएकाले यो वर्ष सय पूर्णाङ्ककै गराउने तयारी गरेको बोर्डले जनाएको छ ।


बोर्डले गतवर्ष समय र अंकभार घटाएर परीक्षा लिएको थियो । बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो । बोर्डले होम सेन्टर तोकेर देशभरका ४ हजार १ सय पाँच परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरेको थियो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो वर्ष ३ लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेका छन् ।



