अत्तरिया- माछापुच्छ्रे बैंक लिमिटिेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सुदूरपश्चिम प्रदेशको सरकारी विद्यालयमा शौचालय निर्माण गरेको छ । कैलालीको गोदावरी नगरपालिका वडा नं.६, बडेहाँ स्थित श्री शैलेश्वरी माध्यमिक विद्यालय परिसरमा शौचालय निर्माण गरी बैंंकले विद्यालयलाई हस्तान्तरण गरेको हो ।
विहिबार औपचारिक कार्यक्रमका वीच बैंकले निर्माण गरेको ८ वटा शौचालयहरु विद्यालय व्यवस्थापन समिति एंव विद्यालय प्रशासनलाई हस्तातरण गरिएको हो । उक्त शौचालय हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं.६ का वडा अध्यक्ष जहरु साउदले माछापुच्छ्रे बैंक लिमिटेडले कैलाली जिल्लाको सरकारी स्कुललाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि उक्त बैंकले जस्तै अन्य संघसंस्थाहरुले पनि स्थानिय निकायहरुसंग मिलेर अन्य यस्तै कामहरु गर्दै गएको खण्डमा देशका हरेक सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार हुदै जाने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंक लिमिटेडका महाप्रबन्धक प्रसिद्ध राज अर्यालले बैंकले आफ्नो विद्यालय संचालनका लागि अति आवश्यक पर्ने शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भईरहेको जानकारी पाए पश्चात बैंकले उक्त विद्यालयको अवस्था अवलोकन गरी पूर्वाधारहरु निर्माण गरेको जानकारी गराउदै भविष्यमा पनि अन्य यस्ता थुपै सामाजिक कार्यमा सहयोग गर्न बैंक सधै अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै सोही कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगराज पाठकले माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो विद्यालय प्रति गरेको सामाजिक कार्यको सराहना गर्दै यस्ता सहयोगले विद्यालय संचालनका लागि उत्प्रेरणा मिल्ने बताए ।
१८ सय बढि विद्यार्थी र ३५ जना शिक्षक/कर्मचारी कार्यरत उक्त विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था निक्कै नै खराव रहेको हुदाँ विद्यार्थी एंव शिक्षकहरुले भोगि रहेको समस्यालाई मध्यनजर गरि बैंकले विद्यालय परिसरमा ८ वटा शौचालय तथा सेफ्टी ट्याङ्कीको निर्माण गरेको हो । बैंकले निर्माण गरेको ८ वटा शौचालयहरु मध्ये २ वटा विद्यालयका कर्मचारी, ३ वटा महिला तथा ३ वटा पुरुष विद्यार्थीले प्रयोग गर्नेछन् ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तिय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आई रहेको छ ।