कञ्चनपुर- कञ्चनपुरमा विपिन जोशीको रिहाइको माग गर्दै परराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । असोज २० गत देखि बेपत्ता जोशीको सकुशल उद्धारको लागि उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाइएको हो ।
नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दल र पार्टी प्रदेश कमिटीको तर्फबाट परराष्ट्र मन्त्री श्रेष्ठलाई ज्ञापन पत्र बुझाइएको छ । जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालय कृषि तथा विज्ञान संकाय मार्फत इजरायल पुगेका थिए ।
प्यालेस्टाइनको हमास समूहले नेपाली विद्यार्थीहरू बसेको बङ्करभित्रै पसेर आक्रमण गरेका थिए । हमासको आक्रमणबाट १० जना नेपाली विद्यार्थी मारिएका थिए । त्यस क्रममा बेपत्ता भएका जोशीको अवस्था अझै अज्ञात रहेको छ । उनलाई हमास समूहले नियन्त्रण दिएको पुष्टि भएको छ । तर अहिले सम्म उनलाई रिहा गरेको छैन ।
माओवादी सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेल र संसदीय दलका नेता मान बहादुर धामीले हस्ताक्षर गरेर तत्काल जोशीको रिहाइको लागि पहल गर्न आग्रह गरेका छन् । हमासले नियन्त्रणमा लिएका व्यक्तिहरू रिहा भइरहेको भन्दै विज्ञप्तिमा तत्काल जोशीको रिहाइको लागि पहल गर्न आग्रह गरिएको हो ।