सुदूरपश्चिम समयमा बजेट कार्यान्वयन नहुने समस्या कायमै

धनगढी- सुदूरपश्चिममा समयमा बजेट कार्यान्वयन नहुने समस्या अहिले पनि कायमै छ । प्रदेश सरकार गठतयता ६ वटा बजेट सार्वजनिक गरिसकिएको छ । बजेट कार्यान्वयनको गति बढाउन प्रदेश सरकार अझै सफल बन्न सकेको छैन् । ६ वर्षमा सुदूरपश्चिम सरकारले १ खर्ब ५५ अर्ब ४४ करोड ९५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । तर विनियोजित बजेटको ठूलो अंश कार्यान्वयन भएको छैन् ।

६ वर्षमा विनियोजित कुल बजेटको आधा त परै जाओस ३५ प्रतिशत पनि खर्च गर्न सकेको छैन् । ६ वर्षमा विनियोजन भएको कुल बजेटको ६४ दशमलव ५७ प्रतिशत बजेट कार्यान्वयन गर्न प्रदेश सरकार असफल भएको हो । चालु भन्दा विकास बजेट कार्यान्वयनको अवस्था सुदूरपश्चिममा झनै निरासाजनक देखिएको छ । बजेट कार्यान्वयनको शैली ६ वर्ष अघि जस्तो थियो अहिले पनि त्यस्तै छ ।

मुख्यमन्त्री, मन्त्री, सांसद, प्रदेश सचिव एवं कर्मचारी फेरिएको भए पनि बजेट कार्यान्वयनको शैली फेरिएको छैन् । बजेटमा वर्षेनि नारा फेरिएका छन् । बजेटको आकारमा घटबढ भएको छ । साथै योजना पनि थपघट भएका छन् । तर बजेट कार्यान्वयनको गति कसैगरी बढेको छैन् ।

मुख्यमन्त्री, मन्त्री, सांसद, कर्मचारी लगायत सुविधामा विनियोजित बजेट भने सतप्रतिशत खर्च हुने गरेको छ । तर विकास बजेट कार्यान्वयन ४० प्रतिशत पनि पुग्ने गरेको छैन् । तथ्यांक अनुसार २०७४ मा प्रदेश सरकार गठन भए देखि ६ वर्षमा ५५ अर्ब सात करोड २५ लाख रुपैयाँ विनियोजन भएको वर्ष कार्यान्वयन हुन नसकेर अर्को वर्ष सारिएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा ७६ करोड ६ लाख, आर्थिक वर्ष २०७५/०७६ मा १० अर्ब ९० करोड २२ लाख, आर्थिक वर्ष २०७६/०७७ मा १० अर्ब ४७ करोड, आर्थिक वर्ष २०७७/०७८ मा ११ अर्ब ४९ करोड ९५ लाख, आर्थिक वर्ष २०७८/०७९ मा १० अर्ब ५० करोड ९४ लाख र आर्थिक वर्ष २०७९/०८० मा १० अर्ब ९३ करोड ५ लाख रुपैयाँ खर्च हुन नसकेर फ्रिज भई अर्को वर्ष सारिएको पाइएको छ ।

६ वर्षमा १ खर्ब ५५ अर्ब ४४ करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा ६४ दशमलव ५७ प्रतिशत बजेट कार्यान्वयन गर्न प्रदेश सरकार सफल देखिएको छ । प्रदेश सरकारले वार्षिक कुल बजेटको आधा अंश पूर्वाधार विकासमा खर्च गर्दै आएको छ । तर सबै भन्दा बढी बजेट खर्च हुने गरेको पूर्वाधारको गुरुयोजना बनाउन सम्म प्रदेशले सकेको छैन् । चालु आर्थिक वर्षमा यातायात पूर्वाधार विकास गुरुयोजना बनाउन बजेट विनियोजन गरिएको भए पनि काम हुन सकेको छैन् । सडक पूर्वाधारमा हुने खर्चलाई व्यवस्थापन गर्न यातायात पूर्वाधार गुरुयोजना निर्माण गरिरहेको दाबी छ ।

Loading...