एक महिना अवधीमा १ सय ६ जना फरार प्रतिबादी पक्राउ

धनगढी- जिल्ला प्रहरी प्रहरी कैलालीले एक महिना अवधीमा १ सय ६ जना फरार प्रतिबादी पक्राउ गरेको छ । सो अवधीमा विभिन्न मुद्दामा कैद सजाय तथा जरिवाना पाएर लामो समय देखि फरार रहेका धमाधम प्रतिवादी पक्राउ पर्न थालेको कैलाली प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीको नेतृत्वमा अहिले प्रहरी उपरीक्षक (एसपी) पदम बहादुर बिष्ट छन् । एसपी बिष्टले गत फागुन ७ गते कैलाली प्रहरीको कमाण्ड सम्हालेका थिए । प्रहरीको नेतृत्व सम्हालेको ठिक एक महिना अवधीमा एकपछि अर्को गर्दै फरार प्रतिवादीलाई पक्राउ गर्न थालेका छन् । एक महिनामा प्रहरीले जिल्लाबाट विभिन्न स्थानबाट विभिन्न मुद्दामा दोषी ठहर भएर फरार भएका प्रतिवादीलाई पक्राउ गरी अनुसन्धान अघि बढाई कारवाहीका लागि सम्बन्धीत निकायमा पठाइएको छ ।

सबै भन्दा धेरै वन सम्बन्धी मुद्दाका ३० जना फरार प्रतिवादी पक्राउ परेका छन् । त्यसपछि लागुऔषध मुद्दाका १६ जना, चेक अनादर मुद्दाका १० जना, अपराधिक विश्वास घात मुद्दाका ६ जना, सवारी ज्यान मुद्दाका ५ जना र जालसाजी मुद्दाका ५ जनालाई पक्राउ गरेर आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ । कुटपिट, गाली बेइज्जती, आत्महत्या दुरुत्साहन, आगजनी, जबरजस्तीकरणी लगायत मुद्दाका थप ३४ जनालाई समेत पक्राउ गरेर कारवाहीका लागि सम्बन्धीत निकायमा पठाइएको छ ।

अपराधिक गतिविधिमा संलग्न भएर अदालतबाट सजाय पाइसकेका तर लामो समय देखि फरार रहेका अभियुक्तलाई पक्राउ गर्न विशेष अभियान चलाइएको एसपी बिष्टले बताए । सोही अन्तरगत जिल्लास्थित मातहतका सबै प्रहरी कार्यालय र युनिटको सक्रियतामा एक महिनामा उल्लेख्य प्रगती भएको उनको भनाई छ ।

कैलाली प्रहरीले चालु आर्थिक वर्षको ७ महिनामा यस अघि ३१ जना फरार प्रतिवादी मात्र पक्राउ गरेको थियो । एक महिनामा समातिएका फरार प्रतिवादीको संख्या यो भन्दा तीन गुणाले बढि देखिएको छ । यसरी कैलाली प्रहरीले विभिन्न मुद्दामा कैद सजाय तथा जरिवाना पाएर लामो समयदेखि फरार रहेका धमाधम प्रतिवादी पक्राउ परीरहेका बताएको छ ।

Loading...