सुदूरका ३ जिल्लाबाट एकै दिन ८ फरार दोषी पक्राउ

धनगढी- सुदूरपश्चिमका तीन जिल्लाबाट एकै दिन ८ फरार दोषी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली, कञ्चनपुर र बाजुराका विभिन्न मुद्दाका दोषी रहेका छन् ।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका वन पैदावार बिना ईजाजत ओसार-पोसार मुद्दामा २ लाख ३१ हजार १३६ जरिवाना ठहर भएकी घोडाघोडी नगरपालिका-६ बस्ने धना पार्की, वन मुद्दामा ३० हजार २०१जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका-१३ बस्ने कण बहादुर बोहरा रहेका छन् ।

यी दुबै जनालाई आइतवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए ।

यस्तै जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका कुटपिट मुद्दामा ७५० जरिवाना ठहर भएका दोधारा चाँदनी नगरपालिका-७ बस्ने कणर्े दमाई र लुटपाट मुद्दामा १ हजार ८७५ जरिवाना ठहर भएका दोधारा चाँदनी नगरपालिका-७ बस्ने ईन्द्र बहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए । यी दुबै जनालाई आईतवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुकै घरबाट पक्राउ गरेको डाँगीले जनाकारी दिए ।

उता बाजुराबाट थप ४ जना दोषी पक्राउ परेका छन् । जिल्ला अदालत बाजुराको फैसलाले हातहतियार सम्बन्धी कसुर मुद्दामा ९ महिना १७ दिन कैद सजाय र १०हजार जरिवाना ठहर भई फरार रहेका बाजुराको बुढीनन्दा नगरपालिका-८ बस्ने कविन्द्र बोहरा, आईते बोहरा, दले कामी र बुढीनन्दा नगरपालिका-१० बस्ने पृथ्वी बहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आइतवार अस्थाई प्रहरी पोष्ट पाण्डुसैन, बाजुराबाट खटिएको प्रहरी टोलीले चारै जनालाई घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । फरार रहेका ८ जनालाई फैसला कार्यान्वयनको लागि प्रहरीले सम्बन्धित अदालत समक्ष पेश गरिसकेको छ ।

Loading...