बझाङ- नेकपा एमालेले आगामी वैशाख १५ गते बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को लागि हुने उपनिर्वाचनमा उम्मेदवारको नाम सिफारिस गरेको छ । नेकपा एमाले उपनिर्वाचनका लागि तीन जनाको नाम सिफारिस गरेको हो ।
उम्मेदवारको लागि ६ जना आकांक्षी रहेका थिए । निर्वाचन क्षेत्रिय समन्वय कमिटीमा मतदान हुँदा बढी मत पाउने दमन भण्डारी, जुना जाग्री र राधा विस्टको नाम प्रदेश कमिटीलाई सिफारिस गरिएको एमाले बझाङ जिल्ला कमिटीका सचिव आनन्द विकले बताए ।
मतदानमा भण्डारीले ९४, जाग्रीले ६८ र विस्टले ६१ मत प्राप्त गरेका थिए । यस अघिको प्रदेश सभा निर्वाचनमा उम्मेदवार रहेका अफिलाल ओखेडाले ६० मत प्राप्त गरेका छन । अन्य उम्मेदवारका आकांक्षीहरू गोकुल सिंहले २८, प्रयागराज जोशीले १३ मत प्राप्त गरेको र ९ मत बदर भएको निर्वाचन कमिटीले जनाएको छ ।
गत निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार पृथ्वी बहादुर सिंह सँग पराजित अफिलाल ओखेडा प्रदेश सभा उपनिर्वाचनको लागि बलियो दाबेदारको रुपमा रहेका थिए । आन्तरिक निर्वाचनमा कम मत प्राप्त गरेपछि उनको टिकट पाउने सम्भावना कम रहेको सचिव आनन्द विकले बताए । ‘प्रदेश वा केन्द्रले कुनै निणर्य गरे अर्कै कुरा हो । जिल्लाबाट उनको नाम सिफारिसमा नपरेको उनले बताए ।
बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं १, बाट निर्वाचित नेपाली काँग्रेसका पृथ्वी बहादुर सिंहको सवारी दुर्घटनामा निधन भएको थियो । सुदूरपश्चिम सरकारको आन्तरिक मामिलामन्त्री भएको बेला गृहजिल्ला जाँँदै गर्दा गत असारमा उनी सवार गाडी दुर्घटना भएको थियो । उनको ठाउँमा पदरिक्त भएपछि उपनिर्वाचन हुन लागेको छ ।