अत्तरिया- कैलालीको गोदावरी नगरपालिमा दलित महिला सशक्तीकरण तालिम सुरु भएको छ । वडा नम्बर २ को सहयोग र दीपज्याती दलित महिला समूह, चेतनशील दलित महिला बाख्रा पालन समूह र झरना दलित महिला समूहको आयोजनामा तालिम सुरु भएको हो । शनिवार देखि सुरु भएको तालिम फागुन २९ गते सम्म सञ्चालन हुने जनाइएको छ ।
तालिमकी संयोजक सुमित्रा शोवले वडा भित्र रहेका महिलाको सशक्तीकरण गरी सीप सँग जोड्नको लागि तालिम आयोजना गरिएको बताइन् । उनले दलित महिला आर्थिक, सामाजिक, राजनीतिक रूपमा अझै पछि परेकाले यस्ता महिलाहरूलाई सशक्तीकरण गर्न तालिम आयोजना गरिएको बताइन् ।
तालिमको उद्घाटन सत्रमा वडा सदस्य डबल बहादुर साउँद प्रमुख अतिथि रहेका थिए । उनले तालिमले महिलालाई सशक्तीकरण गराउन सहयोग पुग्ने बताए । उनले समाजमा सबै किसिमका मानिस बसेकाले सबैले सम्मान जनक तरिकाले बाच्न पाउनु पर्ने बताए । ‘समाजमा सबै सम्मान जनक तरिकाले बसेका भए सशक्तीकरणको कुरा नै आउँदैन’ उनले भने ‘तर, हामी यस्तो समाजमा छौ । जहाँ विभेद छ । सबै जातीमा विभेद छ ।’