धनगढी- सुदूरपश्चिम प्रदेश सरकारबाट माओवादी केन्द्रले आफ्नो समर्थन फिर्ता लिएको छ । आज (बुधबार) बिहान संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले कांग्रेस नेतृत्वको सरकारलाई लिएको समर्थन फिर्ता लिने निणर्य गरेको माओवादी संसदीय दलका नेता मन बहादुर धामीले जानकारी दिए ।
हिजो (मंगलबार) मुख्यमन्त्री कमल बहादुर शाहले माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री बर्खास्त गरेपछि आज (बुधबार) सरकारको समर्थन फिर्ता लिन माओवादी केन्द्रले संसदीय दलको बैठक आह्वान गरेको थियो । मुख्यमन्त्री शाहले माओवादी बाट सामाजिक विकास मन्त्री भएका झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका रमेश धामी र राज्य मन्त्री गीता माललाई हटाएको थियो ।
आफ्ना मन्त्रीहरूलाई सरकारले बर्खास्त गरेको भोलि पल्टै माओवादीले आफ्नो समर्थन फिर्ता लिने निणर्य गरेको हो ।सुदूरपश्चिममा माओवादीका सभामुख सहित ११ सांसद छन् । माओवादीले समर्थन फिर्ता लिँदा पनि सरकार भने बहुमतमै रहेको छ ।
अहिले सम्म कांग्रेस सहित नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीको समर्थन कांग्रेस नेतृत्वको सरकारलाई छ । यहाँ कांग्रेसका १८, नागरिक उन्मुक्तिका ७ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । यहाँका मुख्यमन्त्री कमल बहादुर शाहसँग कांग्रेस बाहेक अन्य दुई दलले समर्थन फिर्ता नलिँदा सम्म २९ सांसदको समर्थन देखिन्छ ।