बैतडी- प्रहरीले बैतडीमा साढे १० लाख बढिको भन्सार छली गरि ल्याईएको अवैध सामान सहित २ जनालाई पक्राउ गरेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका ७ खोचलेकबाट जीपमा लैजादै गरेको उक्त सामान सहित २ जना लाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा बझाङको बुङगल नगरपालिका ११ पातलका से १ ज ७१८ नम्बरका जीप चालक ३४ वर्षीय वीर बहादुर बोहरा र सहचालक सोही ठाउँका २४ वर्षीय पुष्कर बहादुर बोहरा रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।
भारतबाट अवैध रूपमा ल्याइएको १० लाख ५७ हजार ४ सय बराबरको सामान जीपमा लैजादै गर्दा खोचलेक प्रहरी चौकीका प्रहरी हवल्दार सुरेन्द्र धामीको कमान्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सामान बरामद गरेको हो ।
बरामद गरिएको सामानमा १६३२ वन्डल बिडी, १२६ जोर चप्पल रहेको छ । सामान ओसारपसार भइ रहेको भन्ने बिषेश सूचनाको आधारमा प्रहरीले जीप सहित दुबै जनालाई समातेको जनाएको छ ।
प्रहरीले उक्त सामानको मूल्य २ लाख ५७ हजार ४ सय र ओसारपसारमा प्रयोग भएको ८ लाख बराबरको जीप र दुबै जना लाई थप अनुसन्धानका लागि महाकाली भन्सार कार्यालय झुलाघाट बुझाइएको छ ।
यस अघि सदरमुकाम क्षेत्रबाट फागुन १८ गते पनि ४७ हजारको अवैध सामान बरामद गरिएको थियोे ।