उपचारबाट वञ्चित भएका धामीको उपचारका लागि सहयोगी हातहरु जुट्दै

अत्तरिया- आर्थीक अभावका कारण उपचारबाट वञ्चित भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ भ्यागुतेपानीका कृष्ण धामीको उपचारकालागि सहयोगी हातहरु जुट्न थालेका छन् ।

मंगलबारसम्म २ लाख ६० हजार रकम संकलन भएको अत्तरियाका स्थानीय राम सापकोटाले बताएका छन् । विभीन्न ठाउँबाट “कृष्ण धामी बचाउँ अभियान” स्वफुर्त रुपमा सञ्चालन भईरहेका छन् । २१ वर्षीय धामी ५ वर्ष देखी नसा सम्बन्धी रोगसंग लडिरहेका छन् । वडा नम्बर २ मा रहेको दुर्गालक्ष्मी नमुना माविमा कक्षा ९ मा पढ्दै गर्दा शरिर काम्ने समस्याले थलीएका उनले आर्थीक अभावकै कारण उपचार गराउन सकेका छैनन् ।

चिकित्सकका अनुसार उनलाई नसा सम्बन्धी रोग रहेको छ । कृष्णका बुवा लाल बहादुर धामी दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका छन् । दैनिक ज्याला मजदुरी गरेको रकमले छाक टार्न समेत मुस्कील हुने गरेकोले छोराको उपचार गराउन नसकेको उनले बताएका छन् । बाहिर भित्र समेत जान नसक्ने भएकोले छोराको स्याहारमा सम्पुणर् समय खर्चिनु पर्दा मजदुरीमा जान समेत गाह्रो हुन थालेको उनले बताए ।

कृष्णलाई एक पटक उपचारका लागि काठमाडौं स्थीत विर अस्पताल लगे पनि आर्थीक अभावका कारण एक महिना राखेर घर फर्कनु परेको दुखेसो सुनाए । कृष्ण लाल बहादुरका एक्ला सन्तान हुन् । सोहि रोगका कारण केहि वर्ष अघि छोरी पनि गुमाएका उनी हाल मानसिक रुपमा पनि विक्षीप्त बनेका छन् ।

लाल बहादुरले आफ्नो छोराको उपचारमा सक्दो सहयोग गरिदिन अपिल गरेका छन् । नबिल बैंकमा रहेको लाल बहादुर धामीको खाता नम्बर १४४०५०८००३१० मा सक्दो सहयोग जम्मा गरिदिन उनले आग्रह गरेका छन् ।

Loading...