देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ।
मनसुनी वायुको प्रभावका कारण हाल देशभर सामान्यतया बदली रहेको छ। कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभाग, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
त्यस्तै, आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
तराईका थोरै स्थानमा समेत चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। राति कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
भारी वर्षा हुने सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैलाई महाशाखाले आग्रह गरेको छ।
