नयाँ सत्तारुढ गठबन्धन : काे बन्ला सुदूरपश्चिम प्रदेशमा नयाँ मुख्यमन्त्री ?

RBB Bank Suvakamana
Purbadhar dadeldhura

अत्तरिया- नेपाली कांग्रेससहितको सत्ता गठबन्धन भत्किएसँगै त्यसको तरंग प्रदेशसम्मै पुगेको छ । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कांग्रेससँगको गठबन्धन तोड्दै नेकपा एमालेसँग मिलेका छन् । माओवादीले केन्द्रमा नयाँ गठबन्धन बनाएसँगै विकसित राजनीतिक समीकरणले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा छ । कांग्रेस संघदेखि प्रदेशसम्मै सत्ताविमुख हुने अवस्था सिर्जना भएको हो ।

माओवादी अहिले कांग्रेससँगको सहयात्रा तोडेर एमाले, रास्वपा र जसपासँगको पुरानो गठबन्धनमा फर्किएको छ । सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा माओवादी, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीको गठबन्धन सरकार छ । एमाले नेतृत्वको नयाँ गठबन्धनमा सामेल हुने संकेत गर्दै नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरी गठबन्धनप्रति आफू सकारात्मक रहेको बताएका छन् । यसको आधिकारिक निर्णय गर्न सोमबार बेलुका पार्टीको बैठक बस्दै छ । नागरिक उन्मुक्ति पार्टी पनि एमालेसँगको पुरानै गठबन्धनमा फर्किए सुदूरपश्चिममा कांग्रेस नेतृत्वको प्रदेश सरकार ढल्नेछ । ५२ प्रदेश सांसद रहेको सुदूरपश्चिममा सरकार गठन गर्न २७ सांसदको समर्थन आवश्यक पर्छ ।

कांग्रेससँग अहिले १८ सांसद छन् । कांग्रेसलाई सरकार जोगाइराख्न उन्मुक्तिको साथ अनिवार्य चाहिन्छ । नागरिक उन्मुक्तिसँग सुदूरपश्चिम प्रदेश सभामा ७ सांसद छन् । सुदूरपश्चिम प्रदेश सभामा माओवादीसँग ११ सांसद (सभामुखसहित) र एमालेसँग १० सांसद (उपसभामुख) छन् । नेकपा एकीकृत समाजवादीसँग ४ तथा १÷१ सांसद राप्रपा र स्वतन्त्र छन् ।

एमाले नेतृत्वको नयाँ गठबन्धनलाई पनि सरकार बनाउन नागरिक उन्मुक्तिको साथ आवश्यक पर्ने देखिन्छ । त्यसैले नागरिक उन्मुक्तिका अध्यक्ष चौधरीले एमालेसहितको गठबन्धनप्रति सकरात्मक रहेको बताउँदै मुख्यमन्त्री पाउनु पर्ने माग राखे । ‘सुदूरपश्चिममा हामी निर्णायक छौं । हाम्रो पार्टी नै थारु विद्रोहबाट जन्मेको हो । त्यसैले उसको बाहुल्य क्षेत्रमा नेतृत्व दिएर जानुपर्छ,’ उनले भने, ‘यसमा हामीले दाबी गर्ने होइन जसरी पनि पाउनुपर्छ । अरु ठाउँमा त्यहीअनुसारको सहभागिता हुनुपर्ने छ ।’

Malpot office dadeldhura

नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री पाएमा संसदीय दलका नेता घनश्याम चौधरी मुख्यमन्त्री बन्नेछन् । नयाँ गठबन्धनमा सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपा एमालेले पाउनसक्ने सम्भावना पनि छ । स्रोतका अनुसार कांग्रेसले नेतृत्व गरेका प्रदेश सरकार एमालेलाई दिने गरी भागबण्डा टुंगो लगाइँदैछ ।

त्यसो भएमा एमालेले सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र कोशी पाउनेछ । ‘माओवादीले नेतृत्व गरिरहेका प्रदेश हेरफेर हुँदैन । कांग्रेसको नेतृत्व रहेका प्रदेश एमालेले पाउने सम्भावना बढी देखिन्छ’, एक नेताले भने, ‘कोशीमा संवैधानिक संकट आउने हुनाले त्यसलाई अहिले चलाइँदैन ।’ माओवादीले कर्णाली र बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको छ भने जसपाले मधेशमा सरकार चलाइरहेको छ । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकार नेतृत्व पाएमा संसदीय दलका नेता राजेन्द्र सिंह रावल फेरि मुख्यमन्त्री बन्ने प्रबल सम्भावना छ ।

‘उन्मुक्तिले त्यसबेला राजनीतिक बेइमानी गरेर विश्वासको मत दिएन । हामीले २९ दिन मात्रै सरकार चलाउन पायौँ’, एमाले सुदूरपश्चिमका एक नेता भन्छन्, ‘यहाँको प्रदेश सरकार नेतृत्व गर्न पहिलो प्राथमिकता एमालेले पाउनुपर्छ ।’

संविधानको धारा १६८ को उपधारा २ बमोजिम २७ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भएका एमालेका रावल विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए । त्यसपछि २६ माघमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा कांग्रेसका कमल बहादुर शाह मुख्यमन्त्री भएका थिए ।

कांग्रेसका शाहले एक वर्षे कार्यकाल पूरा गरिसकेका छन् । नेकपा माओवादी केन्द्रले पनि सुदूरपश्चिम सरकारको नेतृत्व पाउनु पर्ने दाबी गरेको छ । माओवादी सुदूरपश्चिममा आन्तरिक शक्ति संघर्ष चर्किएको छ । चुनावताका मुख्यमन्त्रीको वचन दिइएका खगराज भट्टको संसदीय दल नेताको हैसियत पनि खोसिएको छ । स्थायी समिति सदस्य समेत रहेका भट्टलाई पाखा लगाउँदै केन्द्रीय सदस्य बिना मगरलाई केहीदिन अघि सुदूरपश्चिम प्रदेश सहइन्चार्ज बनाइयो । त्यसपछि किनाराकृत पारिएको भन्दै खगराज माओवादीमा निकै असन्तुष्ट छन् ।

यसैबीच सत्ता गठबन्धन फेरबदल भएसँगै सुदूरपश्चिम माओवादीको भागमा हालेर मुख्यमन्त्री बन्ने ध्याउन्नमा रहेका खगराज हाल काठमाडौँमै छन् । खगराजलाई बहुमत सांसदले दल नेताबाट हटाएर दार्चुलाका मानबहादुर धामीलाई दल नेता बनाएको थियो । दल नेता रहेका धामी पनि मुख्यमन्त्री माओवादीको भागमा पार्ने र त्यसमा जानबाट खगराजलाई रोक्ने योजना रहेको नेताहरु बताउँछन् । नयाँ सत्ता गठबन्धनमा भागबण्डा टुंगो नलागेकोले हाल सुदूरपश्चिममा दलहरु केन्द्रको निर्णयको पर्खाइमा छन् ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...