हरिश चन्द/डडेल्धुरा २१ फागुन- विभिन्न गाउँबस्तीमा पाइने दमाहा बाजा पछिल्लो समय हराउँदै गएका छन । नयाँ पुस्ताले यस्ता बाजाप्रति खासै चासो नदेखाउँदा तथा आधुनिक बाजाका कारण परम्परागत बाजा हराउन थालेका हुन ।



गाउँमा विवाह व्रतबन्ध, भुवा, दसैँ , देवताको जाँत र बिसु पर्वका प्रयोग गरिँदै आएका दमाहा, सहनाई, नरसिङ्गा लगायतका बाजा बिस्तारै लोप हुँदै गएका छन । दमाहा बाजाको छुट्टै महत्व रहि आएको भए पनि युवा पुस्ताले त्यो बाजा बजाउन खासै चासो नदिँदा दमाहा लोप हुँदै गएको स्थानीय बताउछन् ।




दमाहा बाजा यहाँका दलित समुदायका नेपाली, दमाई थरका व्यक्तिले बजाउने चलन छ । पटन नगरपालिका-७ कैलपालका राम दमाईले बजारमा आएका विभिन्न बाजा तथा डिजेका कारण पुराना बाजा बिस्तारै लोप हुँदै गएको बताउनु भयो । आधुनिक बाजा भित्रिएका कारण पुस्तौँ देखि बजाउँदै आएको दमाहा लोप हुने अवस्थामा पुगेको छ ।
पानीले दुई दिन जति भिजाइएको दमाहा राम्रो बज्ने गरेको दमाहा बखर्ने अर्थात दमाहामा छाला लगाउने उधक दमाईले बताउनु भयो । उहाँका अनुसार यो बाजामा मरेको गोरुको छाला दुई दिन पानीमा भिजाएर नरम बनाई बखर्नु पर्छ अनि आवाज पनि बढी आउँछ ।”
बैतडीमा प्रदेश तथा सङ्घीय सरकारबाट उच्च ओहदाका व्यक्ति गाउँ आएपछि यो दमाहा बजाएर स्वागत गरिन्छ । उच्च तहका व्यक्ति आउँदा स्वागतमा बाजा बजाउने चलन अहिले पनि रहेको छ ।

