वैद्यनाथ धाममा कोटी होममा हवन गर्दा जलेको हवनकुण्ड पुनः निर्माण

अछाम- अछामको वैद्यनाथ धाममा कोटी होममा हवन गर्दा जलेको हवनकुण्ड पुनः निर्माण गरिएको छ । शनिबार हवन गर्ने क्रममा आगलागीबाट हुँदा धामको प्रमुख हवनकुण्ड जलेको थियो ।

उक्त हवन कुण्ड आईतबार पुनःनिर्माण गरेर फेरी पूजाआजाको काम सुरु गरिएको कोटिहोमका अध्यक्ष शेर बहादुर कुँवरले जानकारी दिए । हवन कुण्ड निमाणर्संगै क्षमायाचना पुजा गरेर नियमित रुपमा कोटिहोममा हवन कार्यको सुरुवात भएको कुँवरले बताए ।

उनका अनुसार हवनकुण्ड निर्माणका लागि दक्ष मिस्त्री, नेपाली सेना, शसस्त्र प्रहरी, जनपद प्रहरी, लायन्स क्लव, मानवसेवा फाउण्डेसन तथा आयोजक लगायतका संस्था एवम् व्यक्तिहरु खटिएका थिए । सबैको अथक प्रयासका कारण आगलागीका कारण क्षति भएको एक दिन नवित्दै हवन कुण्ड पुनःनिर्माण भएर पूजाआजको काम सुरु भएको अध्यक्ष कुँवरले बताए । निर्माण कार्य थालेको ८/९ घण्टा भित्र कुण्ड पूणर् रुपमा निर्माण भएको उनको भनाई छ ।

नेपालका चार धाम मध्येको एक पौराणिक, धार्मिक, ऐतिहासिक, पुरातात्तित्वक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूणर् रहेको वैद्यनाथ क्षेत्रमा १४४ वर्षमा कोटिहोमको आयोजना भएको हो । वैद्यनाथ धाममा आयोजित कोटिहोममा दिन प्रतिदिन भक्तजनहरुको सहभागिता बढ्दै गएका छन ।

कोटिहोममा वेदान्ताचार्य प्राध्यापक भवानी प्रसाद खतिवडा र आचार्य तथा कथावाचक वालयोगेश्वर श्री विजय कृष्णमूर्ति जी महाराजले कथा वाचन गरि रहेका छन । कोटिहोम महायज्ञ फागुन २५ गते महाशिवरात्रीको दिन सम्म चल्ने आयोजकले जनाएको छ ।

Loading...