गोदावरीमा कुकुर बन्ध्याकरण कार्यक्रम सञ्चालनमा

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका- १ मा घरपालुवा तथा भुस्याहा (छाडा कुकुर) को बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीको आयोजनामा तथा सिटि भेट क्लिनिक धनगढीको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको हो ।

छाडा कुकुरबाट लाग्ने प्राणघातक रेविज रोगलाई नियन्त्रण गर्ने उद्देश्यले बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख हेमराज अवस्थीले बताए । बिहान र रातिको समयमा बाटोमा हिँड्ने व्यक्ती, बालबालिका लाई कुकुरले जथाभावी टोक्ने र सडकमा दुर्घटना गराउने जोखिम बढेकाले कुकुरको बन्ध्याकरण गर्न लागिएको उनले बताए ।

रेविज रोग प्राण घातक भएकाले उक्त भाइरस धेरैमात्रामा बहुलाएको कुकुर स्यालको सम्पर्क भएर मानिसमा सर्ने पशु सेवा विज्ञ अवस्थीले बताए । उनले उक्त रोगलाई निर्मुल पार्न कुकुरको बन्ध्याकरण पनि एक उपाय भएको बताए ।

नगरपालिकाको वडा नम्बर १ मा रहेको पशुशाखाको प्राङगणमा संचालन गरिएको शिविर २ दिनसम्म सञ्चालन हुनेछ । उक्त शिविरबाट अत्तरिया बजार तथा वडामा रहेका करिब ३ सय कुकुरहरुको बन्ध्याकरण गरिने जनाएको छ । यस शिविरले सडकमा भुस्याहा कुकुर कम हुने अपेक्षा गरिएको छ ।

Loading...