बझाङ र इलाममा हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं- निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ र प्रदेश तर्फ बझाङ क्षेत्र नम्बर १(१) मा उपनिर्वाचन हुँदैछ ।

त्यसको लागि आयोगले सोमबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको उपसचिव एवं सहायक प्रवक्ता थानेश्वर भुसालले बताए । निर्वाचन कार्यतालिका अनुसार फागुन १६ गते देखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २०८० चैत्र २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

सो उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्नको लागि फागुन २४ गते देखि ३० गते सम्मको म्याद दिई सूचना प्रकाशन गरिने आयोगले जनाएको छ । सोमबार स्वीकृत कार्यतालिका अनुसार चैत्र २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी चैत्र २४ गतेदेखि २७ गते सम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ ।

निर्वाचन कार्यक्रम अनुसार चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत्र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरिनेछ । साथै चैत्र २८ गते देखि २०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहनेछ । ०८१ वैशाख १५ गते बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ ।

Loading...