अत्तरिया-धनगढी १३२ केभी विद्युत प्रसारण लाइनको प्रभावित क्षेत्रमा सुझाव संकलन गरिने

धनगढी- नेपाल विद्युत प्राधिकरण वातावरण तथा सामाजिक अध्ययन विभागले अत्तरिया-धनगढी १३२ केभी विद्युत प्रसारण लाइनको प्रभावित क्षेत्रमा सुझाव संकलन गर्ने भएको छ । अत्तरिया-धनगढी १३२ केभि विद्युत प्रसारण लाइन आयोजनाको प्रारम्भिक वातावरणीय परिक्षणको मस्यौदा बारे प्रभावित क्षेत्रमा सुझाव संकलन सुरु गर्ने भएको हो ।

विभागले आयोजनालाई अगाडि बढाउन प्रभावित क्षेत्र गोदावरी नगरपालिका, धनगढी र कृष्णपुर नगरपालिकाका प्रभावित वडाका वासिन्दालाई समेटेर मस्यौदा बारे सुझाव संकलन शुरु गरेको हो । शनिबार गोदावरी नगरपालिकाको प्रभावित क्षेत्र वडा नम्बर १ र ५ का वासिन्दालाई समेटेर गरिएको सार्वजनिक सुनुवाईमा सहभागिहरुले गोदावरीमा पनि वितरण केन्द्र स्थापना गर्न माग गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा कार्यवाहक वडा अध्यक्ष गम्भिर साउँदले १३२ केभी आयोजनालाई प्रभावित पार्न कुनै गतिविधि नहुने तर, गोदावरीमा पनि वितरण केन्द्र यथाशिघ्र स्थापना हुनुपर्ने बताए । धनगढीमा ठुला उद्योग तथा कलकारखाना स्थापना हुँदा यहाँका बासिन्दाले बेला-बेला अन्धकारमा बस्नु पर्ने बाँध्यता रहेको उनले बताए । यसको समाधानका लागि यही वितरण केन्द्र स्थापना हुन जरुरी रहेको उनको भनाई छ ।

आयोजनालाई अघि बढाउन वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको मस्यौदा उर्जा प्रवद्र्धन केन्द्रले स्वीकृत गर्नुपर्ने भएकाले प्रभावित क्षेत्रका वासिन्दाहरुसंग राय सुझाव लिन लागिएको विभागका निर्देशक अनिरुद्र पौडेलले बताए । विभागका उपनिर्देशक राजु ज्ञावलीले वातावरणीय प्रभाव मूल्यांकनको मस्यौदा सुनुवाइमा प्रस्तुत गरेका थिए । विभागका अच्युत द्धवाडीले स्वागत गरेको कार्यक्रममा इन्जीनियर भारत थापाले आयोजनाको महत्व र विशेषताबारे जानकारी दिएका थिए ।

Loading...